aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्वेत गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट, पाँच जना भाग्यमानीले पाए ११ कित्ता शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ साउन २०७९
श्वेत गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट, पाँच जना भाग्यमानीले पाए ११ कित्ता शेयर

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको । बिक्री  प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान सर्वसाधारणमा विक्री गरेको शेयरको अन्तिम बाँडफाँट गरेको हो । 

विक्री प्रबन्धकका कम्पनीको आईपिओ खरीदका लागि कुल १५ लाख ४३ हजार ९४५ जनाले १ करोड ७० लाख ७२ हजार ८७० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्य ४ हजार ४४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका १५ लाख ३९ हजार ५०५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो । 

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गर्दा २ लाख २७ हजार २०० जना योग्य आवेदकहरूले मात्र शेयर प्राप्त गरेका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ता शेयर बाँडफाँट गरी बाकी रहेको ५ कित्ता शेयर भने थप पाँच जनालाई एक एक कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।

यस आधारमा भाग्यमानी ५ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका १३ लाख १६ हजार ९४३ जना आवेदकहरूको हात भने खाली भएको छ । कम्पनीले सर्वसाधारणमा साउन ४ गतेदेखि साउन ८ गतेसम्म आईपीओ बिक्री गरेको थियो । 

कम्पनीले रू. १ अर्ब ५९ करोड ३० लाको १५ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ७० हजार २५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर कम्पनीले बुधवार बाँडफाँट गरेको हो ।

यस कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको पानी उपयोग गरी २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको कम्पनीको भनाई छ ।

निर्माण अवधिको ब्याज सहित यस आयोजनको प्रतिमेगावाट लागत रू. २२ करोड ६७ लाख ६१ हजार र कुल लागत रू. ६ अर्ब ३७ करोड २० लाख हुने अनुमान गरिएको छ । यस कम्पनीमा संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कम्पनी र आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरूमा ५ प्रतिशत शेयर जारी गरिसकेको छ ।

सर्वसाधारणमा १५ प्रतिशत शेयर जारी पश्चात् चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ३० लाख कायम भएको छ । गत आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ८८ रहेको छ भने कम्पनी सो अवधिसम्म रू. ७ करोड ११ लाख सञ्चित नोक्सानीमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस