
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारी लगानीको बीमा कम्पनीहरुले पूँजी वृद्धि नगरेमा कारवाही गर्ने बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नर्वौ वार्षिक समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कानुन सबैलाई एउटै लागु हुने भन्दै सिलवालले भने, ‘कानुन सबैको लागी एउटै लागु हुन्छ । सरकारी लाई एउटा नीजिलाई अर्को भन्ने हुँदैन । सरकारी स्वामित्वको कम्पनी भए भन्दैमा कानुन मान्दिन भन्ने छुट छैन ।’
सरकारी बीमा कम्पनीलाई चेतावनी दिदै उनले भने ‘अबको छ महिनामा पुँजी वृद्धि गरिएन भने समितिले विशेष कारवाही गर्छ’,सरकारी कम्पनी भएपछि अन्य कम्पनी भन्दा तुलनात्मक हिसाबले बढि नै संवेदनशिल हुनुपर्नेमा उल्टो नियामक निकायले ल्याएका नीति कार्यान्वयन गर्ने कुरामा वेवास्ता गर्दै जाने हो भने यसले झन् कम्पनीको साखमा गिरावट आउँछ’, उनले थपे ।
साथै उनले कम्पनीले अझैसम्म पनि लेखापरिक्षणको काम नसक्काएको भन्दै अबका केही महिना भित्रै ती कामहरु सकाउन निर्देशन दिए । ‘सरकारी कम्पनी हुँदैमा अब छुट हुँदैन । लेखापरिक्षणको काम केही महिना भित्रै सकाएर समितिले ताकेको चुक्ता पुँजी पुर्याउनलाई म पुनः निर्देशन दिन्छु’, उनले भने, ‘यसकालागि यसभन्दा अघिका बीमासँग सम्बन्धीत कर्मचारी बीमा विज्ञ, सरकारी निकाय क–कसको सहयोग चाहिन्छ लिनुस् र ढिला नगरी लेखापरिक्षण सकाउने काममा लागिहाल्नुस् ।’
प्रतिक्रिया दिनुहोस