aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साढे ११ अर्ब भन्दाबढिको बीमालेख सरेन्डर, अभिकर्ता नै मुख्य दोषी

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शुक्रबार, २० साउन २०७९
साढे ११ अर्ब भन्दाबढिको बीमालेख सरेन्डर, अभिकर्ता नै मुख्य दोषी

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा ११ अर्ब रुपैयाँ भन्दा बढिको बीमा पोलिसी सरेन्डर भएको छ । बीमा समितिको तथ्यांक अनुसार गत आवमा ११ अर्ब ६४ करोड ८ लाख रुपैयाँ बराबरको ८१ हजार ८७० वटा बीमालेख सरेन्डर भएका हुन् । 

ठुलो मात्रामा बीमा लेख सरेन्डर हुन थालेपछि त्यसलाई कमगर्न बीमा समितिले जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । जसमा बीमितले ३ वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने व्यवस्था छ । यस अघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बीमालेख त्याग गर्न सक्ने व्यवस्था रहेको थियो  । तर, समितिले नयाँ निर्देशिका जारी गरेपनि सरेण्डर गर्नेको संख्या उच्च नै रहेको देखिन्छ ।

जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बजारमा तरलता अभाव भएको कारणले समेत बीमितहरुले पोलिसी सरेन्डर गर्ने गरेको बताए । बैंकमा तरलता अभाव छ । अनि मानिसहरुलाई नियमित किस्ता बुझाउनै पर्ने बाध्यता छ । त्यसो हुँदा सहज रुपमा ऋण पाइने आफ्नो बीमा पोलिसीलाई नै धितो राखेर पैसा लिनेक्रम बढेको उनको तर्क छ । उनी भन्छन्, ‘यसरी धितो राखेको पोलिसीको किस्ता बुझाउन सक्दैनन् र मानिसहरु बाध्य भएर पोलिसी सरेन्डर गर्छन् ।’

बीमितहरुले पोलिसी सरेन्डर गर्ने अर्को महत्वपूर्ण कारण क्षमता भन्दाबढि रकमको बीमा गर्नु/गराउनु पनि रहेको श्रेष्ठ बताउँछन् । बजारमा एउटा बीमा कम्पनीमा रहेको पोलिसी सरेन्डर गर्न लगाएर अर्कै कम्पनी वा पोलिसीमा बीमा गराउने प्रवृत्ति बढेका कारण पनि सरेन्डर गर्नेहरुको संख्या बढेको चर्चा छ । 

बीमा सरेन्डर कम गर्नका लागि अहिले भइरहेका ओभर राइटिङ र अन्डर राइटिङलाई निरुत्साहित गर्नुपर्ने श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘बीमितको तिर्न सक्ने क्षमता भन्दा बढि रकमको बीमा गराउने वा उनीहरुको क्षमता भन्दा धेरै कम रकमको पोलिसी खरिद गराउने कुराको अन्त्य नगरेसम्म पोलिसी सरेन्डरको समस्या रहिरहन्छ ।’

त्यसबाहेक बीमा गराउने अभिकर्ताहरुले बीमितहरुलाई पोलिसी खरिद गराउनुअघि के कसरी त्यसबारे बुझाए वा बुझाएनन् भन्ने कुरामा पनि पोलिसी सरेन्डर हुने वा नहुने भर पर्छ । धेरैजसो बीमितहरुले आफूले खरिद गरेको पोलिसी बारे नबुझेको पाइन्छ । यसको दोष बीमितलाई भन्दा पनि अभिकर्तालाई दिनुपर्ने श्रेष्ठको धारणा छ । 

बीमा सरेन्डरको संख्या बढ्नुमा बीमा कम्पनीहरुको पोलिसीमा नै कमजोरी रहेको बीमा विज्ञ रविन्द्र भट्राई औल्याउँछन् । उनी भन्छन्, ‘बीमा कम्पनीहरुको पोलिसीमा कमजोरी हुँदा सरेन्डर गर्नेहरु बढेको पाइन्छ ।’ 

बीमा सरेन्डरमा अभिकर्तासमेत दोषी रहेको भन्ने श्रेष्ठको  भनाईसँग भट्टराई पनि सहमत छन् । उनी भन्छन्, ‘कमिसनको लोभमा अभिकर्ताहरुले बीमा गर्ने व्यक्तिको प्रिमियम तिर्ने क्षमता नै नबुझि बीमा गराउँदा पनि बीमा सरेन्डर गर्नेको संख्या बढेको देखिन्छ ।’ पोलिसी सरेन्डर गर्दा अभिकर्ताहरुलाई फाइदा हुने गरेको उनको भनाई छ । ‘पोलिसी सरेन्डर हुँदा बीमा कम्पनीलाई भन्दा अभिकर्ताहरुलाई फाइदा हुने गर्दछ । मानौ कुनै कम्पनीको अभिकर्ताले ५० लाख रुपैयाँ बराबरको बीमा गरायो भने उसले सुरुमा नै कमिसन पाउँछ । तर, कम्पनीलाई भने घाटा छ’, उनले भने ।  

पोलिसी सरेन्डर गर्न योजनावद्ध रुपमा गिरोहहरु नै लागेको भट्टराईको आरोप छ । उनले आर्थिक न्युजसँग भने, ‘बीमा पोलिसी सरेन्डर गराउनका लागि गिरोह नै सक्रिय भएको देखिन्छ । पैसा टन्न भएको समुहले पोलिसी खरिद गर्ने रहेछन् । अनि आफ्नो हिसाब किताब मिलाएर सरेन्डर गर्ने गर्छन् ।’ 

बीमा पोलिसी सरेन्डरको संख्या घटाउन शुरुमा अभिकर्ताको कमिसन घटाउनुपर्ने उनको सुझाव छ । त्यस्तै, उनले बीमितले पाउने ऋणको व्यवस्थालाई घटाउने वा हटाउने व्यवस्था गर्नुपर्ने बताए । यसका साथै बीमाका कर्मचारीलाई पनि उत्तरदायी बनाउन आवश्यक देखिएको उनको भनाई छ । 

बजारमा कम्पनीहरुको प्रतिस्पर्धाले गर्दा बीमा पोलिसी सरेन्डर गर्नेको संख्या बढेको एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बताउँछन् । उनी भन्छन्, ‘बजारमा कम्पनीहरुबीच धेरै प्रतिस्पर्धा छ । अभिकर्ताहरुले बीमितलाई दिनुपर्ने सेवासुविधा पनि राम्रो सँग पुग्न सकेको छैन जसले गर्दा पनि पोलिसी सरेन्डर गर्नेहरु बढ्दै गएका छन् ।’

पोलिसी सरेन्डर कम गर्न बीमा पोलिसी सरेन्डर गर्ने बिमितहरुले कम्तिमा पनि २ वर्षसम्म अन्य बीमा कम्पनीमा बीमा गर्न नपाइने नियम लागु गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘अन्य देशहरुमा पनि बीमा पोलिसी सरेन्डर गर्ने गर्छन् । बीमा पोलिसी सरेन्डर गर्नेहरुले २ वर्षसम्म बीमा गर्न नपाइने व्यवस्था छ । नेपालमा भने एउटा कम्पनीको पोलिसी सरेन्डर गरेर अर्को कम्पनीमा बीमा गर्ने गर्छन् । यसलाई रोक्नका लागि समितिले एक पटक बीमा पोलिसी सरेन्डर गरेपछि बीमितले २ वर्षसम्म बीमा गर्न नपाउने व्यवस्था गर्नुपर्छ ।’

बीमा पोलिसी सरेन्डर गर्नेहरुमा नेपाल लाइफ इन्स्योरेन्सका बिमीतहरु धेरै रहेको देखिन्छ । जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्समा गत आवमा मात्रै २६ हजार ६०३ जनाले ५ अर्ब १ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । 

त्यस्तै, यस अवधिमा कम संख्यामा पोलिसी सरेन्डर गर्नेमा सानिमा लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । गत आवमा यस कम्पनीका २२६ बीमितहरुले ६ करोड ५० लाख ४ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेको बीमा समितिले जनाएको छ । 

हेर्नुहोस् कुन जीवन बीमा कम्पनीका कति भए बीमा सरेन्डर ?


 

प्रतिक्रिया दिनुहोस