
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले भदौ १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको साउन २३ गतेको सञ्चालक समितिको बैठकले अनामनगर स्थित आफ्नै कर्पोरेट कार्यालयमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन लगाएतका प्रस्तावहरू पारित गर्नेछ । सभाले प्रबन्धपत्रतर्फ स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड (ग) लाई संशोधन गर्ने र खण्ड (घ) संशोधन गरी हटाउने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं. २५ को उप नियम (५) संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्ने कार्यक्रम रहेको छ ।
साथै स्वीकृत नियमावलीको नियम नं. २७ को उप नियम (२) मा संचालक संख्या स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक सहित ७ सात जनाको हुनेछ भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
त्यस्तै नियमावलीको नियम नं. २९ संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना संचालक समितिले नियुक्त गर्नेछ भन्ने व्यवस्था संशोधनद्धारा कायम गर्ने र नियमावलीको नियम नं. ३१ मा संशोधन गरी संचालकहरुको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा कम्पनी ऐन बमोजिमको प्रक्रिया पुरा गरी गरिनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
विशेष साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा भदौ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस