
काठमाडौं । नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै जनाले राहदानी फिर्ता लिन प्रक्रिया थालेपछि मात्रै अध्यागमनले अनुसन्धान थालेको हो ।
स्रोतका अनुसार ओमबहादुर अधिकारी, सरिता विक, जानुकादेवी दाहाल र कृष्ण चौधरी फागुन ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यागमन अधिकारीले ती चारमध्ये तीनको राहदानीमा टाँसिएको श्रम स्टिकर नक्कली रहेको र एकको राहदानीमा टाँसिएको स्टिकर अरूकै नाममा जारी गरिएको पत्ता लगाएका थिए ।
राहदानी जफत गरेको पत्र हातमा थमाएर थप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्थ्यो । त्यस दिन विमानस्थल अध्यागमनमा डिपार्चर अफिसियलको जिम्मेवारी सम्हालेका जनक शर्माले चारै यात्रु कारबाहीको प्रक्रियामै रहेका बेला विमानस्थलबाट रहस्यमय रूपमा बेपत्ता भएको दाबी गरे ।
जबकि नक्कली श्रम स्टिकरको फन्दामा परेकी पीडित जानुकादेवी दाहालले कान्तिपुरसँग राहदानी लिएपछि अध्यागमन अधिकारी नै गायब बनेको र आफूहरूलाई कुनै औपचारिक पत्र नथमाइएको बताइन् । ‘नक्कली श्रम स्टिकर भएको भन्दै रोकेपछि उनीहरूले राहदानी जफत गरे । म झन्डै डेढ घण्टासम्म कुरेर बसें तर अध्यागमन अधिकारीले न पत्र दिए न केही सोधपुछ नै गरे,’ उनले भनिन् । उनले आफू अलपत्र परेपछि विमानस्थलको गेटमा रहेका सुरक्षाकर्मीलाई भनेर बाहिरिएको बताइन् ।
विमानस्थलभित्र छिरेका यात्रु कागजपत्र नमिलेर वा अन्य कारणले बाहिरिनुपर्यो भने अध्यागमनले अफलोड गरेको औपचारिक पत्र सुरक्षाकर्मीलाई देखाउनुपर्छ । अध्यागमन अधिकारीले राहदानी जफत गरेपछि त्यसको विवरण समेटेर किन पत्र दिएनन् र उनीहरू कसरी विमानस्थलबाट पत्रबिना नै सुरक्षा घेरा पार गरेर बाहिरिए भन्ने खुल्न सकेको छैन । चारै जना यात्रु आफ्नो लगेजसमेत छाडेर निस्केका थिए । दाहालले भनिन्, ‘घटनाको तीन महिना बितिसक्यो न कुनै कारबाही भएको छ, न मैले लगेज र राहदानी नै पाएकी छु । यो कस्तो खेलाँची ।’
गुपचुप राख्न खोजिएको यो घटना एक कान दुई कान हुँदै घटना बाहिरिएपछि मात्रै अध्यागमनले कारबाहीका निम्ति पत्राचार गरेको देखिन्छ । नक्कली श्रम स्टिकरको यो घटनाबारे प्रधानमन्त्रीको सचिवालय र गृहसचिव प्रेम राईसम्म पुगेको छ । आजको कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस