
काठमाडौं । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जरपश्चात कायम भएको शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बीमा क्षेत्रमै सबैभन्दा पहिला मर्जर प्रकृया सम्पन्न गरी हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । यी दुई कम्पनीबिच वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो ।
एभरेष्ट इन्स्योरेन्को १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन । स्वाप रेशियो अनुसार कायम हुन आएको उल्लेखित शेयर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट सूचीकृत भएको हो ।
साविकको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड खारेज गरी कम्पनीको १ करोड ६ लाख ६४ हजार २७५ दशमलव ९५ कित्ता शेयर साविकको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा परिवर्तन गरिएको नेप्सेको भनाई छ ।
एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरूले अब हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार गर्ने गरी शेयर सूचीकृत भएको हो । मर्जर सम्झौतापछि वैशाख २३ गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।
प्रतिक्रिया दिनुहोस