aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पिपुल्स पावरको आईपीओ आजदेखि खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ साउन २०७९
पिपुल्स पावरको आईपीओ आजदेखि खुला

काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ वितरण गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाकी २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ छिटोमा भदौ ५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १४ गतेसम्म विक्री अवधि लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थालाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधि भदौ ५ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । इच्छुक खरीदकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पूर्ण प्रविधिमैत्री अवस्थामा रहेको धितोपत्र प्राथमिक बजारमा निष्कासनमा आएको यो आईपीओ खरीदका लागि विक्री प्रबन्धसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखाहरूबाट आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । 

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि कम्पनीको हालको अनुमानित लागत रू. ९५ करोड ६ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १९ करोड १६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । 

यस कम्पनीको अधिकृत पूँजी रू. ६३ करोड २६ लाख रहेको छ भने जारी पूँजी रू. ३२ करोड २६ लाख छ । कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी भने रू. ३२ करोड २६ लाख रहेको छ । संस्थापक तर्फ हाल ५१ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर विक्री तथा बाँडफाँट गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३९ प्रतिशत शेयर वितरण गर्न लागेको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ६३ करोड २६ लाख रूपैयाँ कायम हुनेछ ।

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी १ करोड ६२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ९६ रहेको छ । चालू आर्थिक वर्ष ०७९÷८० सम्ममा भने कम्पनीले रू. ७२ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

सो अवधिसम्म कम्पनीले प्रतिशेयर आम्दानी रू. ४ दशमलव १७ र प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव १४ पु¥याउने प्रक्षेपण पनि गरेको छ ।कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रू. ९४ दशमलव ९६ देखि अधिकतम रू. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस