
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साउन ३१ गते तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण तर्फको समेत १ करोड ३५ लाख कित्ता शेयर सूचीकृत गरेको हो । कम्पनीले संस्थापक तर्फको ७५ दशमलव ५ प्रतिशत र सर्वसाधारणतर्फको स्थानीयमा वितरण गरिएको १० प्रतिशत र सामुहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणमा जारी गरिएको १४ दशमलव ५ प्रतिशत शेयर सूचीकृत गराएको हो ।
बुधवारदेखि कम्पनीको शेयर कारोबारयोग्य हुनेछ । नेप्सेले युएसएचईसी संकेतबाट कम्पनीको शेयर कारोबार खुला हुने गरी पहिलो कारोबारका लागि खुला मूल्य प्रतिकित्ता न्यूनतम रू. १०८ दशमलव २१ देखि अधिकतम रू. ३२४ दशमलव ६३ सम्म तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रारको सेवा एनएमबि क्यापिटलले दिनेछ ।
त्यस्तै मंगलवारनै श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले पनि १ करोड ५९ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको छ । नेप्सेले एसजीएचसी स्टक संकेतबाट कम्पनीको उक्त शेयर सूचीकृत गराएको हो । कम्पनीको सूचीकृत कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत, स्थानीयतर्फ १० प्रतिशत र सामुहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व रहेको छ । बुधवारदेखिनै कारोबारयोग्य हुने श्वेत गंगा हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता रू. ८९ दशमलव ८८ देखि अधिकतम रू. २६९ दशमलव ६४ सम्मको मूल्यरेञ्ज तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी काम भने सानिमा क्यापिटल लिमिटेडबाट हुनेछ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पनि कुल ५८ लाख ८० हजार ३६९ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । यस कम्पनीको शेयर एमएचएल स्टक संकेतबाट सूचीकृत भएको छ । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत, स्थानीयतर्फ १० प्रतिशत र सामुहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको पहिलो शेयर कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम रू. १०२ देखि अधिकतम रू. ३०६ सम्मको मूल्यरेञ्ज तोकेको छ । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा भने बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यी कम्पनीहरूको शेयर कारोबार नेप्सेले तोकेको मूल्यरेञ्जको आधारमा स्पेशल प्रि–ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार सुरु हुनेछ । तीन कम्पनीको आयोजना प्रभावित स्थानीय तर्फको शेयर भने आगमी तीन वर्षसम्म लकइन पिरियडमा रहनेछ ।
प्रतिक्रिया दिनुहोस