aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ भदौ २०७९
अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा आज

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गते आज १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असार ३० गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिना सहित चार जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । सभाको विशेष प्रस्तावमा पूँजीबृद्धिको विषय रहेको छ । कम्पनीको असार ३० गतेकै सञ्चालक समितिको बैठकले पूँजीबृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई सभाले अनुमोदन गर्ने कार्यक्रम समेत रहेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्काशनको प्रस्ताव १४औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा साउन १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।  
 

प्रतिक्रिया दिनुहोस