
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेका लागि बोलाएको १३ औं र १४औं संयुक्त वार्षिक साधारण सभा स्थगित भएको छ । सभाका लागि शेयरधनीहरूको गणपूरक संख्या नपुगकाले सभा स्थगित भएको कमपनीले जानकारी दिएको हो । स्थगित सभाको मिति तय भएपश्चात् सुचना जारी गरी जानकारी गराईने समेत कम्पनीले सुचना मार्फत भनेको छ ।
सभाका लागि अघिल्ला दुई आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने विषय तय भएको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६० करोडको आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्ष्कासनको विशेष प्रस्ताव पनि सभाका लागि तय गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
हकप्रद पश्चात चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाका लागि तय भएको थियो । साथै सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकहरूको नियुक्ती गर्ने कार्यक्रम समेत रहेको थियो।
उल्लेखित सबै प्रस्तावहरू यथावत रहने गरी कम्पनीले पुनः साधारण सभा आव्हान गर्नेछ । साधारण सभा प्रयोजनका लागि भने कम्पनीले साउन १९ गते एक दिन गरेको बुक क्लोजनै लागू हुनेछ । बुक क्लोजको आधारमा पुनः बस्ने साधारण सभामा साउन १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस