
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी रू. ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर स्थानीयमा जारी गरेको हो । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस