
भैरहवा । नेपाल कृषि प्रधान देश । कृषि प्रधान देश भएता पनि कृषि गर्न सहज भने किसानलाई छैन । किसानलाई कहिले मौसमले साथ दिँदैन त कहिले सरकारका कारण किसान पिल्सिरहेका छन् ।
रोपाइको बेला सरकारले समयमा नै अनुदानमा उपलब्ध गराउने मल खरिद गर्न नसक्दा मुलुकभर युरिया मलको अभाव भएको थियो । धान रोप्ने बेलामा मलको अभाव हुँदा किसान समस्यामा परेका थिए ।
तर, अहिले त्यो समस्या केही हल भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवामा १ लाख ६ हजार १ सय ६२ बोरा अर्थात् ५ हजार ३ सय ८ पोइन्ट १ सय मेट्रिक टन युरिया भित्रिएको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नारायण प्रसाद शर्माले बताए । धान रोप्ने सिजनमा डिएपी नपाएका किसानले गहुँ छर्ने बेलको लागि भने डिएपी मल सहज हुने देखिएको छ । गहुँ खेतीको लागि एक हप्ता भित्र मल नेपाल आइपुग्ने प्रमुख शर्माको भनाइ छ ।
नेपाल सरकारले किसानको माग अनुसार रासायनिक मलको आपूर्ति गर्न नसक्दा किसानलाई खुला सीमावर्ती क्षेत्रबाट गैर कानुनी रूपमा मल भित्राउनु पर्ने अवस्था छ । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाबाट लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै जिल्ला र गण्डकी प्रदेशको कास्की र स्याङ्जा जिल्लामा मल पुर्याउने गरेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले प्रदेश भरीका जिल्लामा कृषि सहकारी मार्फत मल बढ्ने व्यवस्था गरेको छ ।
कृषि कम्पनीमा पर्याप्त मल नभएका कारण मल वितरणमा समस्या आएको थियो तर त्यो समस्याको हल हुँदै गएको जानकारी कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले दिएको छ । पालिकामा रहेका हरेक कृषि सहकारीमा वितरणका लागि कम्पनीबाट मल जाने गर्छ ।
प्रतिक्रिया दिनुहोस