aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वरिष्ठ अभिनेत्री अधिकारीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
वरिष्ठ अभिनेत्री अधिकारीको निधन

काठमाडौं । कयौ चलचित्रमा आफ्नो अदभूत कलाकारिता दिएकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । परिवार स्रोतका अनुसार ७३ वर्षको उमेरमा शनिबार निधन भएको बताइएको छ । निमोनियाबाट पीडित अधिकारी केहि महिना अघिमात्र विर अस्पतालमा उपचार गरेर घरमा लगिएको परिवार स्रोतले बताएको छ । 

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ हो । 

 निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’,  ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।

स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले बताएको छ । अहिले सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन् । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।
 

प्रतिक्रिया दिनुहोस