aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल सरकार र सद्गुरूबीच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ भदौ २०७९
नेपाल सरकार र सद्गुरूबीच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं। विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान  अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर  हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो ।

माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभ रहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा  पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा शुरु गरेका थिए । यात्राको शुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । ६ क्यारिबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै कि आयूसिएन, संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यूएनसिसिडी, डब्ल्यूएफपी तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।

उक्त दिन साँझ ६ः३० बजेदेखि गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुन गईरहेको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन दिने कार्यक्रम समेत रहेको छ ।  नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका मन्त्रीहरू तथा ५००० भन्दा बढी  मानिसहरू उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ ।

विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचार प्रचार आफ्नो सामाजिक दायित्व भएको भन्दै नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने तयारी रहेको छ । यसबाट कार्यक्रममा सहभागि हुन नसक्ने दर्शकहरुले नेपाल नेटवर्क टेलिभिजन मार्फत घरबाटै माटोको महत्वबारे ज्ञान लिन तथा कार्यक्रमलाई प्रत्यक्ष हेर्न सकिने छ ।
 

प्रतिक्रिया दिनुहोस