
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटले नेपालमा पहिलो पटक हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्था छ । हाइब्रिड कार अन्य सावरी साधानभन्दा निक्कै सस्तो हुने आकलन गरिएको थियो । अनि, गाडी बिक्रेता र उपभोक्ता समेत उत्साहित भए । तर, यो उत्साह धेरै समयसम्म टिक्न सकेन । भन्सार विभागका केहि अधिकारीहरुका कारण हाइब्रीड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्थाको कार्यान्वयन गराउन सकनेन ।
चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भन्सार ऐनको संशोधन गर्दै‘कम्प्रेसन इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क(इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी साधन पैठारी गर्दा दरबन्दीबमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट हुने उल्लेख छ‘ यस्ता स्पेसिफिकेसन भएका सवारी साधन आयातमा लाग्ने अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ ।
नयाँ नियम अनुसार हाल नेपालमा आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजश्व ६१ प्रतिशतले कम हुनुपर्ने होे । तर, यो व्यवस्थाले सीमित कार आयातकर्ताहरुलाई मात्र फाइदा भएको भन्दै भन्सार विभागका अधिकारीहरुले बजेटमै भएको व्यवस्था समेत कार्यान्वयनमा ध्यान नदिएका पाइएको छ ।
यो व्यवस्था अनुरुप नै सबैभन्दा पहिला मारुती सुजुकीले हाइब्रीड कार ल्याउने प्रयास गरेको थियो, तर सो प्रयासलाई सफल हुन दिइएको छैन । मारुती सुजुकीले केहि गाडी नेपालमा ल्याएर टेस्ट समेत गरिसेको छ । यी घटनाक्रमका पछाडि गाडी बिक्रेता र भन्सारका अधिकारीहरुको चलखेल र मिलेमतो मुख्य कारण रहेको छ ।
सरकारले बजेटमार्फत ल्याएको हाइब्रीड कारमा छुट सम्बन्धी व्यवस्थालाई तुहाउने गरी कतिपय गाडी बिक्रेता र डिलरहरुले भित्रभित्रै सक्रियता बढाइरहेका समेत स्रोतहरुले दाबी गरेका छन् । हाइब्रीड कार भित्र्याउन नसक्ने, अरुले भित्र्याएको खण्डमा आफ्नो व्यवसाय चौपट हुने सोंच राख्नेहरुलाई भन्सारका अधिकारीहरुले समेत सद्भाव राख्दा अर्थमन्त्रीले बजेटमा गरेको महत्वपूर्ण घोषणा अहिले कार्यान्वयनविहीन अवस्थामा रहेको छ ।
बजेटमा भएको छुटको यो व्यवस्थाले गाडी बिक्रेताभन्दा बढी कार खरीदकर्तालाई फाइदा हुने निष्कर्ष निकालेको छ । उपभोक्ताले सस्तोमै गाडी चढ्न पाउँथे । तर, भन्सार विभागले बजेटमा भएको व्यवस्थाको समेत अपव्याख्या गर्दै छुटको यो व्यवस्था कार्यान्वयनमा अवरोध सिर्जना गरिरहेको देखिएको छ ।
हाइब्रिड कारले माइलेज पनि धेरै दिने र १ करोडभन्दा बढी मूल्य पर्ने कार ६५ देखि ७० लाख रुपैयाँमै आउनसक्ने अवस्था हुन्छ । यसअघि पनि नेपालमा हाइब्रिड कार नआएका होइनन् । विगतमा ल्याइएका हाइब्रिड कारमा एकैखालको भन्सार तथा अन्तःशुल्क लाग्थ्यो । यसपटकको बजेटको नयाँ व्यवस्थाले हाइब्रीड कारको आयात र प्रयोगलाई बढाउथ्यो, तर भन्सार विभागका कारण बजेटमै भएको व्यवस्था समेत कार्यान्वयन आउन सकेको छैन।
इन्टरनल कम्बसन इन्जिन र इलेक्ट्रिक मोटर दुवै प्रयोग गर्न मिल्ने कारलाई हाइब्रिड कार भनिन्छ । यी कारमा डिजेल वा पेट्रोल इन्जिनको साथमा इलेक्ट्रिक मोटर उपलब्ध हुन्छ । पेट्रोलियम पदार्थ र ब्याट्री दुबैको प्रयोगबाट सो कार चलाउन सकिन्छ । त्यसैगरी विद्युतबिनै यसको ब्याट्री चार्ज गर्न सकिन्छ ।
अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले हाइब्रीड कारका लागि बजेटमा विशेष छुटको घोषणा भए पनि कस्तो कारलाई हाइब्रीड मान्ने भन्ने विषयमा अध्ययन भइरहेकोले समय लागेको बताए । उनले भने–‘यो विषयमा हामीले छलफल गरिरहेका छौ । के–के मापदण्डका आधारमा हाइब्रीड कार मान्ने भन्ने विषय दुईचार दिनमै प्रष्ट हुन्छ, त्यसपछि सोही परिधिभित्र रही गाडी बिक्रेताहरुले हाइब्रीड कार भित्र्याउन पाउनेछन् ।
के हो हाइव्रिड गाडी
हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले काम गर्दछ । बाटोको अवस्था हेरी इन्जिनले पनि काम गरिहेको हुन्छ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात् व्याट्रि इन्धन दुबै खपत हुन्छ भने कहिले व्याट्रिको साथसाथै इन्धनमात्र पनि खपत हुने गर्दछ । व्यट्रिले मात्र इन्जिनमा शक्ति पु¥याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।
हाइब्रिड कार परम्परागत कार जत्तिकै चलाउन सहज हुन्छ । यसको शक्तिमा कुनै सम्झौता गरिराख्नु नपर्ने भएकाले यो कार आज संसारमा प्रमुख रोजाइमा पर्दै आएको छ । यस कारमा चालकले आफ्नो आवश्यकता वा वाटोको प्रकृति हेरी कारलाई कुन मोडमा चलाउनु पर्ने हो सो कुरा आफै तय गर्न सक्नुहुन्छ ।
हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर व्याट्रिमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जव ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको व्याट्रि चार्ज हुन्छ ।
हाइब्रिड इन्जिनका विभिन्न प्रकारहरु हुने गर्दछन् ती मध्ये प्यारलल हाइब्रिड, प्लग इन हाइब्रिड, सिरिज हाइब्रिड, माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड हाल प्रयोगमा आइरहेका छन् । हाइब्रिड कारका आफ्नै विशेषताहरु हुन्छन, जस्तो यसमा इन्धनको मूल्य वृद्धिले यसलाई खासै असर गर्दैन भने यसले कार्वन उत्सर्जन पनि न्यून मात्रामा गर्ने हुँदा वातावरणमा पनि यसले ठूलो योगदान दिन्छ । प्रत्येक वर्ष विश्वको तापक्रम बढै गईरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चय नै ठूलो योगदान पु¥याउने हुँदा आज विश्वका हजारौं बैंज्ञानिकहरुले यस्ता कारहरुमा अझ बढी गहिरो अन्वेषण गर्दै आएका छन् ।
बं्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक इनर्जीले व्याट्रि चार्ज हुने यसको प्रमुख विशेषता हो । त्यसै गरी यस्ता कारहरुको निर्माण गर्दा हलुका कच्चा सामग्रीहरुको प्रयोग गरिएको हुन्छ, अर्थात् हलुका भएका कारण यस्ता कारहरुले कम इन्धन खपत गर्दछन् । यस्ता कारहरुको दिन प्रतिदिन माग बढ्दै गईरहेको अवस्थामा माग ज्यादा भएको हुँदा उच्चतम मूल्यमा रिसेल गर्न पनि सहजै सकिन्छ ।
कुनै पनि कुराको सकारात्मक तथा नकारात्मक दुबै पक्ष हुने हुँदा हाइब्रिड कारका कही नकारात्मक पक्षहरु पनि रहेका छन् । हाइब्रिड कारका नकारात्मक पक्ष भन्दा सकारात्मक पक्ष बढी भएको हुँदा आज संसारमा यस्ता कारहरुको उत्पादन वृद्धि हुँदै गइरहेको छ भने यस्ता कारहरुको प्रविधिमा हजारौं अन्वेषण एवं खोज अनुसन्धान हुँदै आइरहेका छन् । यसले गर्दा आगामी दिनहरुमा हाइब्रिड कारका सकारात्मक पक्ष एवं विशेषताहरु अझै बढ्दै जाने विश्वास सहजै लिन सकिन्छ ।
अहिले विश्वका सबैजसो कार उत्पादक कम्पनीहरुले हाइब्रिड गाडी उत्पादन गर्न थालेका छन् । वातावरणीय मैत्रि भएकाले अबको उत्पादन हुने सबै जसो कारहरु यहि प्रविधिमा उत्पादन गर्न सबै कम्पनीहरुले योजना नै बनाइसकेको पनि छन् । नेपालमा भने अहिलेसम्म परम्परागत रुपमा आइरहेका गाडीहरुमात्र विक्रि वितरण गर्न कानुन बनेका छन् भने नयाँ प्रविधि ल्याउन कानुन नै परिमार्जन गर्न पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस