गत बैशाखदेखि सरकारले आयात प्रतिबन्ध लगाएपछि सबैभन्दा धेरै मारमा परेको क्षेत्र भनेको अटोमोबाइल व्यवसाय हो । चार महिनाको अवधिमा यस व्यवसायसँग सम्बन्धित व्यवसायीहरूमा ठूलो असर परेको छ । यसबिचमा बैंकले अटो व्यवसायको ऋणको जोखिम भार समेत बढेका कारण नेपालमा भएका गाडीसमेत विक्री नभएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठसँग अटो मोबाइल क्षेत्रमा हाल देखिएका समस्या र दीर्घकालीन समाधानका विषयमा आर्थिक न्युज डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, उनै श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :
अहिले अटो मोबाइल व्यवसायको अवस्था कस्तो छ ?
अहिले हाम्रो अहिले व्यापार नै छैन । भएका स्टकहरू बैंकले फाइनान्स नगरिदिँदा बिक्री हुनु सकेको छैन । गाडीको ऋणलाई १५० प्रतिशत जोखिम बहन भार क्षमता भिराइदिँदा हामीलाई झनै समस्या भइरहेको छ । यसका साथै पछिल्लो समय बनेका विभिन्न सरकारी नीतिहरूले अटो मोबाइल व्यवसायीहरूलाई निरुत्साहित गरिरहेको छ । सरकारले अर्थतन्त्रको मेरुदण्ड यातायात हो भन्ने अर्कोतिर पोलिसि यस्ता व्यवसायीहरूलाई निरुत्साहित गर्ने गरेको छ ।
तरलताको अभावका कारण बैंकहरुले गाडी फाइनान्स नै गरिदिएको छैन । यसका साथै चालू आर्थिक वर्षको मौद्रिक नीतिले ल्याएको नीतिका कारण बैंकहरुले गाडीमा लगानी गर्ने कुरा ठप्प भएको छ । यसको प्रत्यक्ष असर हामी व्यवसायीहरूमा परेको छ ।
गाडी व्यवसायी समस्यामा पर्दा व्यवसायी मात्रैलाई असर पर्दैन । उनीहरूसँग जोडिएको आयातकर्तादेखि, वर्कसप, स्पेयरपार्ट पसल, लुब्रिक्यान्ट, ब्याट्री, बीमा कम्पनी र यससँगै जोडिएका रोजगारदाताहरू समेत समस्यामा परेका हुन्छन् । अर्को असर देशको राजस्वमा समेत परेको छ । गाडी व्यवसाय ठप्प हुनु भनेको मुलुकको अर्थतन्त्रमा नै असर पर्नु हो ।
सरकारले यस क्षेत्रको लागि जसरी सोचेर अगाडी बढिरहेको छ त्यसलाई हामीले नराम्रो पक्कै भन्दैनौँ । तर, नेपालमा जुन किसिमको गाडीमा ड्युटी छ यो एकदमै धेरै रहेको छ । विश्वमै महँगो ड्युटी लाग्ने देश हाम्रो देश अगाडी नै पर्छ । अन्य देशहरूमा गाडीमा यति धेरै ड्युटी नै लाग्दैन ।
आज हामीले गाडीको अर्डर दियौँ भने तीन महिनापछि मात्रै त्यो बनेर आउँछ । अहिले सरकारले आयातमा रोक लगाएको छ । कहिले खुल्छ टुङ्गो छैन । आयात गर्न पाउने भनेर अहिले सरकारले दियो भने पनि भोलि नै गाडी आउने स्थिति हुँदैन । किनभने हामीले अर्डर दिएको तीन महिनासम्म लाग्छ ।
अहिले विद्युतीय सवारी साधनको माग कस्तो छ ?
नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको माग धेरै नै राम्रो रहेको छ । सरकारले अहिले केही गाडीमा ड्युटी बढाएको कारण केही डिस्करेज गरेको हो की भन्ने चाँही भएको छ । तर, पनि समग्रमा हेर्ने हो भने विद्युतीय सवारी साधनको माग राम्रो रहेको छ । ठूलो विद्युतीय गाडीमा भन्दा पनि साना सवारीमा एकदमै राम्रो डिमान्ड रहेको छ ।
ठूला विद्युतीय सवारी साधनहरूमा ब्याट्रीको क्षमता ठूलो चाहिने भएकोले एकदमै महँगो पर्न जान्छ । सरकारले विद्युतीय सवारी साधन प्रयोग बढाउनका लागि प्रोत्साहन गरे पनि यस्ता ठूला सवारी साधन महँगो पर्न जान्छ । पर्याप्त मात्रामा चार्जिङ स्टेशन बन्ने हो भने विद्युतीय सवारी साधनको माग बढ्न सक्छ । हामीले प्रत्येक ६० किलोमिटरमा चार्जिङको व्यवस्था मिलाएका छौँ ।
धेरैले अटो मोबाइल अनुत्पादक क्षेत्र हो भनेर भन्ने गरेका छन् । यसलाई यहाँले कसरी हेर्नु भएको छ ?
हाम्रो पनि यही कुरामा सधैँ बहस परिरहेको हुन्छ । हामी एक ठाउँबाट अर्को ठाउँमा काम गर्न जानु पर्ने हुन्छ । त्यस ठाउँमा जाँदा हिँडेर जाँदा कति समय लाग्छ र सवारीमा जाँदा कति सहज हुन्छ भनेर हेर्नु पर्ने हुन्छ । यसले कति फाइदा हुन्छ भन्ने कुरा पनि हेर्नु पर्ने हुन्छ । यी कुराहरूमा पनि ध्यान दिनु पर्ने हुन्छ ।
यसअघि नाडा एक्स्पो हुँदै आएकोमा यस वर्ष भने पहिलो पटक नाडा इभी एक्स्पो हुँदैछ यसको प्रमुख उद्देश्य के हो ?
आयात प्रतिबन्धका कारण स्थगित भएको नाडा एक्स्पो अब इभी एक्स्पोको रूपमा आयोजना हुने भएको छ । सो गर्नका लागि आवश्यक गाडी नै नआउने भएपछि नाडाले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म विद्युतीय गाडीको मात्रै नाडा इभी एक्स्पो आयोजना गर्न लागेको हो ।
उक्त इभी एक्सपो आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।
विद्युतीय सवारी साधनको प्रोत्साहन गर्नका लागि पहिलो पटक नाडा इभि एक्सपो २०२२ गर्ने तयारी गरेका छौँ । नेपालको विद्युतलाई खपत बढाउनका लागि पनि हामीले सरकारको योजना अनुसार सहयोग गर्नलाई इभि एक्सपो गर्न लागेका छौँ । एक्स्पोमा राम्रा कम्पनीहरुले सहभागी हुँदै हुनुहुन्छ ।
गाडीहरूलाई लोकल लेभलमा सस्तो बनाउने भनेर लामो समयदेखि त्यसको होमवर्क पनि हुँदै आएको छ । एसेम्बलको पाटोमा हाम्रोमा के के हुनसक्छ ?
एसेम्बलको पोलिसि लामो समयसम्म दीर्घकालीन भयो भने सम्भव नहुने भन्ने कुरा नै छैन । यस वर्षको बजेट हेर्ने हो भने उत्पादनमुखी बनेको छ । यसले गर्दा धेरै मानिसहरुले चासोका साथ कम्पनी दर्ता गरिरहेका छन् ।
तर, सबैलाई एउटै डर यो दीर्घकालीन जान्छ या जाँदैन भन्ने रहेको छ । किनभने यसअघिका कतिपय पोलिसिहरु दीर्घकालीन गएका छैनन । अहिले करोडौँ खर्च गरौला भोलि पोलिसि परिवर्तन केही भयो भने झन् समस्या उत्पन्न हुन्छ । यसले गर्दा सानो सानो लगानी आए पनि ठूलो मात्रामा यसमा लगानी आउन सकेको छैन ।
हाम्रो मार्केट सानो भएकोले पनि यसमा समस्या भएको देखिन्छ । यहाँ उत्पादन भएको चिजहरू यही खपत भएन भने निर्यात गर्नु पर्ने हुन्छ । निर्यातका लागि सम्भावना लगायतका कुराहरू हेरेर फिजिबल हुन्छ हुँदैन भन्ने कुरामा नै सबैले होमवर्क गरिरहेका छन् ।
सरकारले दीर्घकालीरुपमा पोलिसिहरु ल्याइदिने हो भने यहाँ लगानी नआउने भन्ने कुरा नै हुँदैन ।
यहाँ गाडीको एसेम्बल भएमा मूल्यमा कति फरक पर्ला ?
यहाँ उत्पादन भएपछि सस्तो पनि हुनु पर्छ भन्ने हुन्छ । तर, यहाँ गाडी उत्पादन भए पनि अहिले पाइरहेको मूल्यमा खासै सस्तो भन्ने हुँदैन ।
विद्युतीय सवारी साधनमा सिप्रदीको धेरै माग हुन्छ भन्ने सुनिन्छ । यसमा आपूर्ति कसरी गरिरहनु भएको छ ?
विद्युतीय सवारी साधनको माग एकदमै धेरै रहेको छ । तर, अहिले हामीले माग भए जति सवारी साधन आपूर्ति गर्न नै सकिरहेका छैनौँ । गाडी किन्न आउने ग्राहकहरुलाई हामीले अहिले तुरुन्तै दिन सक्दैनौँ जतिसक्दो चाँडो ल्याउने कोसिस गर्छौ भनेर भन्ने गरेका छौँ । यसअघिका दिन भन्दा अहिले केही चाडै ग्राहकलाई गाडी दिन सकिरहेका छौँ । यसअघि मागको ११ महिनासम्म कुर्नु पर्ने हुन्थ्यो भने अहिले हामीले तीन महिनाभित्र आपूर्ति गर्न सकिरहेका हुन्छौँ ।
अहिले बुकिङ कति छ ?
अहिले १२ सयको हाराहारीमा बुकिङ रहेको छ ।
अहिलेसम्म यहाँहरूले देख्नु भएको र यहाँकोमा आएको विद्युतीय सवारीका समस्याहरू के के रहेका छन् ?
अहिलेसम्म देखिएको मध्ये सबैभन्दा धेरै आएको भनेको ठाउँ ठाउँमा चार्जिङ स्टेशन नभएको भन्ने छ । यसका लागि हामीले पनि विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनाइरहेका छौँ । यसका साथसाथै सरकारले पनि बनाइरहेको अवस्था छ । त्यस्तै, चार्जिङ स्टेसनहरू हाइ भोल्टेजबाट चल्छ । यसले गर्दा रिपेयर मेन्टेनका लागि दक्ष व्यक्ति चाहिन्छ । जो पाए त्यहीले छुन पनि सक्दैन । दुई चार जना व्यक्तिलाई दक्ष बनाएर मात्रै पुग्दैन । ठाउँ ठाउँमा यस्ता व्यक्तिको आवश्यक देखिएको छ । यसका लागि चाहिने इक्युपमेन्ट पनि धेरै चाहिन्छ । यसका बाबजुद पनि हामीले विभिन्न ठाउँमा सेवा सुविधा दिइरहेका छौँ । अहिलेको अवस्थामा ढुक्कले विद्युतीय सवारी प्रयोग गर्न सक्नुहुन्छ ।
सिप्रदीले आफ्ना ग्राहकहरूलाई मागेको समयमा कसरी गाडी दिइरहेको छ ?
अहिले हामीले टाटा मोटर्ससंग कुरा गरेर कति छिटो कति धेरै गाडी ल्याउने भन्ने काम गरिरहेका छौँ । यसअघि हामीले टाटा नेक्सन मात्रै थियो भने अहिले हामीले टाटा टिगोर पनि बेचिरहेका छौँ । नेक्सन नपाएमा टिगोर चढ्नलाई अवसर दिएका छौँ । कतिपय कुराहरूमा हामी लागिपरे पनि ग्राहकको मागलाई भनेको समयमा पुरा गर्न सकिरहेका छैनौँ । हामी चाडै नै ग्राहकलाई आएर गाडी किनेर लैजानु भन्ने समय मिलाउने कोसिस गरिरहेका छौँ ।
प्रतिक्रिया दिनुहोस