aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एफएनसीसीआईमा विधान संशोधनको प्रस्तावले विवाद चुलियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
एफएनसीसीआईमा विधान संशोधनको प्रस्तावले विवाद चुलियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि जोड घटाउ शुरु भएको छ । साधारणसभा र अधिवेशनका लागि महासंघको तालिका विपरीत विशेष साधारणसभामार्फत व्यक्तिगत स्वार्थ केन्द्रित हुन थालेपछि विवाद चुलिएको हो ।

महासंघको १३ औं कार्यकारीणी बैठकले आगामी कात्तिक २९ गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । विशेष साधारणसभाबाट महासंघको अबको नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पोल्टामा पर्ने सम्भावना घटेपछि विवाद चुलिएको छ । साधारणसभामा महासंघको विधान संशोधन समितिले तयार गरेको ३५ बुँदे प्रस्ताव पारित गर्नका लागि पेश गरिनेछ । 

सो प्रस्ताव पारित भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ‘स्वतः अध्यक्ष’ बन्न पाउने हालको व्यवस्था खारेज हुनेछ । जसका कारण पूर्वअध्यक्ष पशुपति मुरारका समूह विधान संशोधनको विरोधमा उत्रेको छ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः महासंघको आगामी अध्यक्ष बन्नबाट रोक्न महासंघको विधान संशोधनका लागि बोलाउन लागिएको विशेष साधारणसभाको मिति आवश्यक तयारीविनै र जबरजस्ती तोकिएको मुरारका समूहको आरोप छ । महासंघको कार्यकारीणी बैठकले विधान मिचेर विशेष साधारणसभाको मिति तोकेकामा असहमति जनाउँदै मुरारका समूहले विशेष साधारणसभा बोलाउने प्रक्रिया विधानसंवत नभएको जनाउँदै  नोट अफ डिसेन्ट लेखेरै बैठकस्थलबाट बाहिरिएको हो ।

कार्यकारीणी समितिले विधान अनुमोदन गरेपछि मात्रै साधारणसभा बोलाउन सक्ने महासंघको विधानमा व्यवस्था भएको मुरारका समूहको दाबी छ । वरिष्ठ उपाध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष मुरारका, कार्यकारिणी सदस्यद्धय रञ्जित आचार्य र कृष्ण दुलाललगायतले प्रक्रिया पूरा नगरी विशेष साधारणसभा तोक्ने निर्णय विधान विपरित रहेको दाबी गर्दै फरक मत राखेका थिए ।

महासंघको कार्यसमितिको बैठकले प्रस्ताव तयार नगरी मिति तोकिएको मुरारका समूहको भनाइ छ । सो समूह तीन महिनाभन्दा कम म्याद राखी विषेश साधारणसभा बोलाइएको तथा एउटै व्यक्तिलाई केन्द्रमा राखेर दोस्रोपटक विधान संशोधन गर्न लागिएको भन्दै विरोधमा उत्रिएको छ ।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा रहेको विधान संशोधन समितिले साउन २० गते कार्यसमितिमा ३५ बुँदे संशोधन प्रस्ताव पेश गरेको थियो । प्रस्तावमा महासंघको अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन वा आगामी एक र दुई कार्यकाल हालकै व्यवस्था लागू गर्न सकिने विकल्प राखिएको छ । यसअघि आर्थिक वर्ष २०७३÷७४ मा विधान संशोधन गरी महासंघका वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने व्यवस्था ल्याइएको थियो ।

शुक्रवारको कार्यसमिति बैठकमा महासंघकी अध्यक्ष भवानी राणाले शुरूमै विशेष साधारणसभाको मिति तोक्ने प्रस्ताव राखेकी थिइन् ।  ढकालले साउन २० को कार्यसमिति बैठकमै मिति तोक्न दबाब दिएका थिए । तर, अध्यक्ष राणाले मिति तोक्न अस्वीकार गरेकी थिइन् ।

कात्तिक २९ गतेको विशेष  साधारणसभाले प्रत्यक्ष निर्वाचनको प्रस्ताव पारित गरेमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ‘स्वतः अध्यक्ष’ बन्न पाउने छैनन् । शुक्रवारको बैठकले विशेष साधारणसभाको मिति तोकेपछि पूर्वअध्यक्ष मुरारका विधान विपरीत साधारणसभा बोलाइएको भन्दै फरक मत (नोट अफ डिसेन्ट) राख्दै बैठकबाट बाहिरिएका थिए । उनले शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्नकै लागि विधान संशोधन गर्न लागिएको बताए । त्यस्तै, सो बैठकको माइन्युट आएपछि थप सदस्यहरूले नोट अफ डिसेन्ट राख्ने बताइएको छ ।

महासंघको साधारणसभाले ढकाललाई संयोजक बनाएर साउनको मसान्तसम्ममा विशेष साधारणसभा बोलाई विधान संशोधन गराउने म्यान्डेन्ट दिएको थियो । तर, चार महिनामा पनि काम गर्न नसकेपछि सो समिति नै भंग भएको थियो । कार्यसमितिले त्यसको म्याद थप्न नसक्ने र त्यसैले म्याद सकिएपछि कसरी मिति तोक्न सकिने मुरारका समूहको भनाई छ ।

मुरारका समूहका एक सदस्यले शेखर गोल्छालाई केन्द्रमा राखेर पटकपटक विधान संशोधन गरिँदा संस्थाको गरिमा घटेको बताए । उनले यसअघि पनि एउटै व्यक्तिलाई अध्यक्ष बनाउन विधान संशोधन गरिएको स्मरण गराउँदै भने, ‘यसपटक शेखरजीलाई अध्यक्ष बन्नबाट रोक्नकै लागि विधान संशोधन गर्न लागिएको हो ।’

महासंघका उपाध्यक्ष उमेशलाल प्रधान जुनसुकै हालतमा विधान संशोधन हुनुपर्ने भन्दै शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्नकै लागि संशोधन गर्न नलागिएको बताए । प्रत्यक्ष निर्वाचनबाट चुनिएका व्यक्तिलाई अध्यक्ष बनाउन संशोधन गर्न लागिएको भन्दै उनले अघिल्लोपटक पनि विधान संशोधन हुँदा उपाध्यक्ष बन्ने बाटोमा रहेका कैयौंलाई अन्याय भएको बताए ।

महासंघको कार्यसमिति बैठकले निरज केसीलाई रिक्त कोषध्यक्षमा नियुक्ति गरिसकेको छ । महासंघको सचिवालयमा बसेको बैठकले उनलाई कोषध्यक्षमा नियुक्त गरिएको थियो । ज्ञानेन्द्रलाल प्रधानले कोषध्यक्षबाट राजिनामा दिएपछि केसीलाई नियुक्त गरिएको हो ।

माहासंघभित्र शेखर गोल्छा अध्यक्ष भए व्यवसायीको हितको लागि कुनै काम गर्न नसक्ने निकर्ष नै निकालिएको छ । विशेषगरी जिल्ला सदस्यहरुले शेखर गोल्छालाई अध्यक्ष मान्न आफुहरु तयार नभएको बताउँदै आएका छन् । उनीहरुले भवानी राणालाई विधान संशोधन गरी अध्यक्षको चुनाव प्रत्यक्ष हुनुपर्ने दवाव दिदै आएका छन् ।
अहिलेको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुुने प्रवधान रहेको छ । शेखर गोल्छा पक्ष अल्पमतमा पर्ने हुनाले विशेषसाधरण सभाको विपक्षमा छन् । तर महासंघका सदस्यहरु गोल्छा समुह किन विशेषसाधरण सभाबाट भाग्न खोजेको भन्दै प्रश्न गरेका छन् ।

विशेष साधारण सभामा विधान संसोधनको सहमति नभए भोटिङ हुने भन्दै गोल्छा समुह भाग्न नहुने सदस्यहरुको भनाई छ । विशेष साधारण सभामा विधान संशोधन गर्ने पक्षमा उपाध्यक्ष उमेशलाल श्रेष्ठ, किशोर प्रधान खुलेर लागेका छन् भने चन्द्रप्रसाद ढकाल मौन स्विकृति जनाएका छन् ।

अध्यक्ष भवानी राणा र पूर्व अध्यक्ष चण्डीराज ढकालले पनि गोल्छा महासंघको अध्यक्ष भए व्यवसायीको हकहितको काम गर्न नसक्ने आंकलन गरिसकेका छन् । त्यसैले उनीहरुले विशेष साधरणसभा बोलाएका हुन् ।

महासंघ अध्यक्ष भवानी राणाका अनुसार विधान समितिले बुझाएको प्रतिवेदन सबै सदस्यहरुसँग छलफल गरी सदस्यहरुको राय बुझेर विशेष साधारणसभाको मितिभन्दा १५ दिन अघि कार्यकारीणीले अनुमोदन गर्ने छ । विधान संशोधन अति संबेदनशील काम भएको भन्दै सबै सदस्यहरुको राय बुझेर सदस्यहरुको भावनाअनुसार कार्यकारीणी समितिले विधान संशोधनको प्रस्ताव अनुमोदन गरेर मात्रै साधारणसभामा लैजाने उनले जानकारी दिइन ।

विशेष साधारणसभाले महासंघको विधान संशोधन गर्ने कि नगर्ने भन्ने निणर्य गर्छ । अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । पूर्वअध्यक्ष चण्डीराज ढकाल संयोजकत्वको विधान समितिले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुन नदिने र अध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्ने रायसहितको प्रतिवेदन बुझाइसकेको छ । विधान समितिका संयोजक ढकाल विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुन नदिन लागि परेका छन् । वर्तमान अध्यक्ष भवानी राणालाई वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनाउन यसअघि विधान संशोधन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस