
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रबन्धक प्रभु क्यापिटलले सोमवार बिहान उक्त आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।
कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि तोकिएको अवधिभित्र कुल १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो ।
कुल आवेदकहरूमध्ये १ लाख ४४ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको र १७ लाख ८३ हजार ७४ जना योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएको विक्री प्रबन्धकको भनाई छ ।
माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट १२ हजार ३४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १८ लाख ७० हजार ७७८ जनाको हात खाली भएको छ ।
यस कम्पनीले सार्वजनिक निष्कासनमा विक्री गरेको समेत रू. १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरिएको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुमा र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा वितरण गरिएको छ ।
संस्थापकतर्फ यस अघि रू. २ करोड ६८ लाख पूँजी चुक्ता गरेको कम्पनीको सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात चुक्तापूँजी रू. ४ करोड कायम भएको छ । कम्पनीको आईपीओ बाँडफाँट पश्चात अब धितोपत्र दोस्रो बजारमा सूचीकरण प्रकृयामा जानेछ । दोस्रो बजारमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि सम्बन्धीत शेयरधनीहरूले यो शेयर कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस