
काठमाडौं । पछिल्लो समय बीमा कम्पनी विरुद्ध उजुरी गर्नेको संख्या बढ्दै गएको छ । बीमा समितिको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा विभिन्न बीमा कम्पनी विरुद्ध बीमकहरुले ३८८ वटा उजुरी दिएका छन् ।
बीमा कम्पनीहरुको सेवामा असन्तुष्टि जनाउँदै बीमकहरुले बीमा समितिमा उजुरी गर्ने गर्छन् । अघिल्लो आवको तुलनामा गत वर्ष बीमा कम्पनी विरुद्ध समितिमा परेको उजुरी २३.८० प्रतिशतले बढि हो । समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न बीमा कम्पनीहरु विरुद्ध २७३ वटा उजुरी परेका थिए ।
पछिल्लो समय बीमितहरु पनि सचेत हुँदै गएपछि कम्पनी विरुद्ध उजुरी बढ्दै गएको बीमा समितिका उपनिर्देशक शाम्भराज लामिछाने बताउँछन् । उनी भन्छन्, ‘विगतका वर्षहरुको तुलनामा गत वर्ष बीमा कम्पनी विरुद्ध उजुरी गर्नेहरु बढ्दै गएका छन् । समितिले बीमा सम्बन्धी विभिन्न ठाउँहरुमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका कारण बीमकहरु पनि सचेत हुँदै गए । यसले गर्दा पनि समितिमा उजुरी बढ्न थालेको छ ।’ बीमा दावी लिने सम्बन्धमा बीमकहरु पनि सुसुज्जित भएका छन्’, उनले थपे ।
उनका अनुसार समितिमा जिवन बीमा कम्पनी भन्दा धेरै जसो उजुरी निर्जीवन बीमा कम्पनी विरुद्ध पर्ने गरेका छन् । ‘निर्जीवन बीमा कम्पनीहरुको पोर्टफोलियो पनि धेरै हुन्छ । दावी भुक्तानीको मुल्यांकनमा पनि बार्गेनिङ हुने गर्छ । कम्पनीहरुको यस्तो प्रवृत्तिले गर्दा बीमकहरुको चित्त नबुझेपछि उजुरी दिन आउँछन् । यसले गर्दा पनि जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनी विरुद्ध उजुरीहरु धेरै पर्ने गर्छ’, लामिछानेले भने ।
बीमा समितिको पछिल्लो पाँच वर्षको तथ्याङक हेर्ने हो भने वर्षेनी उजुरी गर्नेहरुको संख्या बढ्दै गएको पाइएको छ । आव २०७४/७५ मा समितिमा बीमा कम्पनीहरु विरुद्ध ११६ वटा मुद्दा परेका थिए । त्यस्ता मुद्दा आव २०७५/७६ मा बढेर १८७ वटा पुगे । त्यस्तै, आव २०७६/७७ मा विभिन्न बीमा कम्पनीहरु विरुद्ध २२८ वटा मुद्दा परेका थिए । त्यस्ता उजुरी बढेर आव २०७७/७८ मा आइपुग्दा २७३ वटा पुगे ।
समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै विभिन्न बीमा कम्पनी विरुद्ध उजुरी गर्नेको संख्या ३३८ पुगिसकेको छ । गत आवमा परेका उजुरीमध्ये १५३ वटा उजुरीको फैसला भइसकेको छ । १८५ वटा मुद्दा भने फैसला हुन बाँकी रहेका छन् ।
बीमा कम्पनीले दिएको सेवा चित्त नबुझेमा बीमकहरुले सिधै बीमा समितिमा उजुरी गर्न सक्छन् । समितिलाई बीमा सम्बन्धी परेका मुद्दामा जिल्ला अदालत सरहको अधिकार छ । तर समितिको फैसला चित्त नबुझेमा बीमकहरु पुनरावलोकनका लागि उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म जान सक्ने व्यवस्था छ ।
पाँच वर्षमा ११४२ वटा मुद्धा दायर
पाँच वर्षको अवधिमा बीमा समितिमा १ हजार १४२ वटा दावी भुक्तानीका उजुरी परेका छन् । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७४ देखि आव वर्ष २०७८ असार मसान्तसम्म बीमा पोलिसीको भुक्तानी नतिर्ने विभिन्न बीमा कम्पनी विरुद्ध समितिमा उजुरी परेको हो ।
समितिमा परेका उजुरीमध्ये ४४८ वटा मुद्दाको फैसला भएको समितिले जनाएको छ । ६८७ मुद्दा फैसला हुन बाँकी रहेका छन् भने १० वटा मुद्दा तामेलीमा रहेको समितिले जनाएको छ ।
बीमा समितिका अनुसार आर्थिक वर्ष २०७४/७५ मा परेका ११६ वटा उजुरीमध्ये २६ वटा मुद्दाको फैसला भएको छ । सात वटा मुद्दा तामेलीमा रहेका छन् भने ८३ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १८७ वटा उजुरी परेका थिए । ती उजुरीहरुमध्ये ८५ वटा मुद्दाको फैसला भएको छ । एउटा मुद्दा तामेलीमा रहेको छ भने १०१ वटा मुद्दा फैसला हुन बाँकी रहेको समितिले जनाएको छ ।
आव २०७६/७७ मा समितिमा विभिन्न कम्पनीका २२८ वटा उजुरी परेका छन् । जसमा १३७ वटा मुद्दा परेकोमा ९१ वटा मुद्दाको फैसला भएको छ । १३५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् भने दुई मुद्दा तामेलीमा रहेको छ ।
त्यसैगरी आव २०७७/७८ मा बीमा समितिमा २७३ वटा मुद्दा परेका थिए । जसमा ९३ वटा मुद्दाको फैसला भएको छ । १०८ वटा मुद्दाको फैसला हुन बाँकी रहेको बीमा समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस