
काठमाडौं । मर्जर प्रस्ताव पारितका लागि सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपालले एकै दिन विशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले असोज ११ गते विशेष साधारण सभा बोलाएका हुन् ।
सानिमा जनरल इन्स्योरेन्सले कुण्डलीनी दरवार बैङक्वेट, चण्डोल, काठमाडौंमा विहान ११ बजे र जनरल इन्स्योरेन्सले अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा विहान ११ बजे सभा बोलाएका हुन । मर्जरपश्चात सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट संयुक्त कारोबार गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन ।
यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जाने सहमति गरेका हुन । मर्जरपछि संस्थापक तर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ । विशेष साधारण सभाले शेयर स्वाप रेसियोलाई स्वीकृति दिर्दै मर्जरका लागि आगामी दिनमा आवश्यक काम गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
हाल सानिमा जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब र जनरल इन्स्योरेन्सको चुक्तापूँजी पनि रू. १ अर्बनै रहेको छ । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुग्नेछ । निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने हालको व्यवस्था अनुसार सानिमा जिआईसी इन्स्योरेन्सलाई थप रू. ५० करोड पूँजी आवश्यक छ । थप पूँजीका लागि कम्पनीले बोनस शेयर वितरणको बाटो रोज्न सक्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस