aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिक्लेस हाइड्रोपावरको आईपीओ: पहिलो दिनमै २ लाख ९० हजारभन्दा बढीको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
सिक्लेस हाइड्रोपावरको आईपीओ:  पहिलो दिनमै २ लाख ९० हजारभन्दा बढीको आवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिनमै २ लाख ९० हजार ८२७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साझ ५ बजेसम्म यी आवेदकहरूबाट ३३ लाख २३ हजार २८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ३ दशमलव १४ गुणा बढी आवेदन हुन आउछ । 

कम्पनीले १० लाख ५८ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको शेयर सहित सर्वसाधारणमा कर्मचारी समेत गरी कुल ११ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

 लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र वेवसाइट मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ  ।

कम्पनीले कास्की जिल्लामा मद्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत उत्पादन गर्दै आएको हो । यस आयोजनाको कुल लागत रू.२ अर्ब ३१ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ८२ लाखभन्दा बढी छ । 

कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ६५ करोड रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ८५ करोड कायम हुनेछ । कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७७÷७८ सम्म रू. १० करोड ९५ लाख सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ८६ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १६ दशमलव ८२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस