
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३८३ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयर खरीद माग भएको हो । १ लाख ५ हजार ८०० जनाले दश कित्ताका दरले शेयर पाउने कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १६ गुणा बढी आवेदन परेको हो । आवेदन दिएकामध्य १४ लाख ३२ हजारभन्दा बढीको हात खाली हुने देखिएको छ ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणमा १० लाख ५८ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको शेयर सहित सर्वसाधारणमा कर्मचारी समेत गरी कुल ११ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्नेछ ।
सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले कास्की जिल्लामा मद्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत उत्पादन गर्दै आएको हो । यस आयोजनाको कुल लागत रू.२ अर्ब ३१ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ८२ लाखभन्दा बढी छ ।
कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ६५ करोड रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ८५ करोड कायम हुनेछ । कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७७÷७८ सम्म रू. १० करोड ९५ लाख सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ८६ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १६ दशमलव ८२ रहेको छ । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ११६ दशमलव ८६ देखि रू. ३५० दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोक्नेछ ।
प्रतिक्रिया दिनुहोस