
काठमाडौं । आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत आईपिओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा प्रदान गर्ने गरी कुमारी क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
असोज ९ गते कुमारी क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपालका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले उक्त सेवाका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो कम्पनी इजराईलबाट कृषि सम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित भएको हो । एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ ।
साथै कम्पनीले आफ्नो सहायक कम्पनी एएनएमसि एग्रो प्रालि मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्रि–वितरण समेत गर्दै आईरहेको छ ।
कुमारी क्यापिटलले ’वे टु लिस्टिङ’ सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
सोही सेवा अन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीलाई आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउन सम्झौता भएको हो ।
प्रतिक्रिया दिनुहोस