aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विभिन्न २३ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
विभिन्न २३ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत विभिन्न २३ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश घोषणा गर्ने कम्पनीहरुमा एक वाणिज्य बैंक सहित तीन हाइड्रोपावर कम्पनी र अन्य विभिन्न कम्पनीहरुले लाभांशको घोषणा गरेका हुन् ।

रु रु जलविद्युत परियोजना
रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बोटलर्स नेपाल बालाजु
कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल बालाजुले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । जस अनुसार बोटलर्स नेपाल बालाजुले २० प्रतिशतले हुन आउने ३ करोड ८९ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोटलर्स नेपाल तराई 
बोटलर्स नेपाल तराईले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी रू.१२ करोड १० लाख छ । जस अनुसार कम्पनीले ६० प्रतिशतले हुन आउने रू.७ करोड २६ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट यस वर्ष ४.२१०५ प्रतिशत कर समेतको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६० करोडको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाथवे नेपाल इन्भेष्टमेन्ट नेपाल 
हाथवे नेपाल इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो । 

सिटिजन्स बैंक इन्टरनेसनल 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत लाभांश दिने भएको हो । हाल बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको । जस अनुसार बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने छ ।

सिद्धार्थ क्यापिटल 
सिद्धार्थ क्यापिटल लिमिटेडले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट शेयधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

नेपाल ल्युव आयल 
नेपाल ल्युव आयलले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

अरुण काबेली पावर 
अरुण काबेली पावर लिमिटेडले यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो । 

सानिमा क्यापिटल 
सानिमा क्यापिटल लिमिटेडले शेयरधनीहरू लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ सम्म मुनाफाबाट शेयरधनीहरूका लागि १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सानिमा इक्वीटि फण्ड
सानिमा इक्वीटि फण्डले गत आर्थिक वर्षको कमाइबाट ईकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाले इकाइ धनीहरुलाई फण्डको आकारको २२ प्रतिशत अर्थात २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल उक्त फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ ।

सानिमा माई हाइड्रोपावर 
सानिमा माई हाइड्रोपावर लिमिटेडले आव २०७८÷७९ को  सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने घोषणा गरेको हो । 

सनराइज फर्स्ट म्युचुअल फण्ड
सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण गर्न सुरु गरेको छ । सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित यस फण्डले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट कर समेत १२ प्रतिशत नगद लाभांश असोज ६ गतेदेखि वितरण गर्न लागेको हो । 

एनआईबिएल सहभागिता फण्ड
एनआईबिएल सहभागिता फण्डले यस वर्ष कर समेत ७ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडको भदौ ९ गतेको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को सञ्चित मुनाफबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

एनआईविएल प्रगति फण्ड
एनआईविएल म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले गत आर्थिक वर्ष २०७८÷७९ को प्रतिफल सार्वजनिक गरेको छ । एनआईविएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरूलाई कर समेत ४ दशमलव २० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो । 

कुमारी क्यापिटल 
कुमारी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश भदौ २० गतेको छैठौँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।  

सिद्धार्थ इक्विटी र सिद्धार्थ ग्रोथ स्किम २
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले प्रतिफल घोषणा गरेका छन् । यी दुई योजनाहरूले आर्थिक वर्ष २०७८÷७९ सम्मको सञ्चित नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेका हुन् । सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले १० प्रतिशत नगद लाभांश  (कर सहित) इकाईधनीलाई वितरण गर्ने घोषणा गरेका हुन । 

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि ५०
 एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । दुवै फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट २१ दशमलव ०५२६३ का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका हुन । 

उक्त लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति समेत तय भएको छ । क्यापिटलका अनुसार साउन ३१ गते बुक क्लोज गर्ने दिएको हो  । उक्त बुक क्लोजको आधारमा साउन ३० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्ड
लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित दुई सामूहिक लगानी कोष योजनाहरूले लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्ष  २०७८÷०७९ सम्मको सञ्चित  मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । दुवै योजनाले एउटै अनुपातमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

एनआईसी एशिया क्यापिटल 
एनआईसी एसिया क्यापिटलले लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट चुक्ता पुँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस