
काठमाडौं । प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीन कम्पनीले आवेदन दिएका छन् । सेबोनका अनुसार सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेन्छीयाम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका लागि आवेदन दिएका हुन् ।
आवेदन दिएका कम्पनीहरुमध्ये दुई वटा हाइड्रोपावर कम्पनी र अन्य एक कम्पनी रहेको छ । बोर्डका अनुसार मोदी इनर्जी लिमिटेडले कुल ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन का लागि बोर्डमा आवेदन दिएको हो । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल रहेको छ ।
त्यस्तै, सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार मेन्छीयाम हाइड्रोपावर कम्पनीले पनि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशनका लागि सेबोनमा आवेदन दिएको छ । उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीहरुले आईपीओ जारी गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस