
कावासोती । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित छन् ।
रोग लागेर बोट नसप्रिने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए । ‘सुरुमा मल पाइएन । हामीले पनि मल नपुगेर होला भन्यौँ’, लम्सालले भने, ‘अहिले बोट नै रातो हुँदै गइरहेको छ । धान नोक्सान भएको छ ।’
कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब ११३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत नगरपालिकामा माग गरेका कृषक लक्ष्मण विकले बताए ।
रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । किसानले धान रोपेको दुई महिना बित्न लाग्दासमेत मलसमेत पाएनन् । अरू सेवा त परै जाओस् किनेर मल हाल्नसमेत नपाउँदा उत्पादन गत वर्षभन्दा कम हुने अनुमान गर्न थालिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख मीरा चौधरीले करिब १८ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा धान खेती गरिएकामध्ये अधिकांश क्षेत्रमा राते रोग देखिएको बताइन् । धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घट्ने उनले जानकारी दिइन् ।
प्रमुख चौधरीका अनुसार धानले समयमा मल नपाउँदा सेतो झिँगाले आक्रमण गरेको कारणले यो रोग लागेको हो । सेतो झिँगाले चुस्दै जाँदा धानको बोट नै पहेँलो हुने समस्या देखिएको छ । धान पहेँलो हुँदै गएपछि कृषकले युरिया डीएपीलगायत मल प्रयोग गर्दा सेतो झिँगालाई चुस्न झन सहज हुने भएकाले धानको बोट रातो देखिएपछि रासायनिक मल प्रयोग गर्न नहुने चौधरीले बताइन् । बोट रातो देखिएपछि युरिया डीएपी जस्ता मल प्रयोग गर्दा बोट पोटिलो भएर आउने र झिंगालाई पात चुस्न झन सहज हुने हुँदा कृषि प्राविधिकको सल्लाहअनुसार मल तथा औषधि प्रयोग गर्नुपर्ने चौधरी बताउँछिन् ।
धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम भनेको डाइमेथिएट विषादी चार लिटर पानीमा एक मिलिलिटरको दरले मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किन उनको सुझाव छ ।
औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ । कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण संकलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस