aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मर्जर प्रकृयामा रहेको गुराँस लाइफले प्रस्तावित ७.८३ प्रतिशत लाभांश कात्तिक ४ गते पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ असोज २०७९
मर्जर प्रकृयामा रहेको गुराँस लाइफले प्रस्तावित ७.८३ प्रतिशत लाभांश कात्तिक ४ गते पारित गर्दै

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ४ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १२ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय तिनकुने, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीले कुल ७ दशमलव ८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउँनेछ । 

हाल यो कम्पनी मर्जर प्रकृयामा रहेको छ । गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रकृयामा रहेका हुन । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा यी कम्पनीहरू एक भएर तोके बमोजिमको पूँजी कायम गर्न लागेका हुन । सभाले मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्रलाई समेत अनुमोदन गर्नेछ । बोनस शेयर वितरणपछि पूँजी बृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । गत वैशाख २९ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेको कम्पनीको शेयर कारोबार गत जेठ ३ गतेदेखिनै रोक्का रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने बताएको छ । यसर्थ असोज २५ गतेसम्म शेयर किताबमा कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने कम्पनीको भनाई छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीले रू. १७ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. १२ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४४ दशमलव २७ प्रतिशत बढी खुद नाफा गरेको हो । चौथो त्रैमाससम्म गुराँस लाइफको जगेडा कोष रकम रू. ५८ करोड ७४ लाखभन्दा बढी रहेको छ भने जीवन बीमाकोषमा रू. १२ अर्ब ४५ करोडभन्दा बढी छ । कम्पनीले गत वर्ष रू. ३ अर्ब ८ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. १ अर्ब ६६ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ७८ रहेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस