काठमाडौँ। बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
संघीय संसद्को अर्थ समितिको पत्रकार आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।
‘यस बारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने,‘अर्थ समितिले अध्ययन गरिसकेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यस कारण केही समयका लागि स्थगित भएको हो ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।
नेप्सेले गत साउन १७ मा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणका लागि कार्यविधि सँगै आवेदनका लागि सूचना पनि जारी गरेको थियो । सूचनामा पहिलो चरणका लागि १५ दिनको समयावधि दिइएको थियो । कार्यविधि जारी गरेको १७ दिन पछि उक्त प्रक्रिया स्थगित भएको छ। यो निर्देशन पनि करिब एक दर्जन बैंकका सहायक कम्पनीले नेप्सेमा आवेदन दिएका छन्।
अर्थसमितिले नेप्सेलाई पठाएको पत्रमा बैंकको सहायक कम्पनीलाई लाइसेन्स वितरण प्रक्रिया स्थगित गर्नु भन्ने उल्लेख छैन । पत्रमा मुद्रा बजार र पुँजी बजारसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरिएको जानकारी पठाइएको छ । नेप्सले भने सोही पत्रको 'भावना अनुरूप' भन्दै प्रक्रिया स्थगित गरेको सुचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस