aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयरको कटअफ मूल्य १६१ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयरको कटअफ मूल्य १६१ रुपैयाँ

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयरको कटअफ मूल्य रू. १६१ तय भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको सर्वसाधारण समुहतर्फको शेयरको कटअफ मूल्य प्रतिकित्ता रू. १६१ तय भएको हो ।

कटअफ मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिएकाहरूले कम्पनीको लिलामी शेयर पाउनेछन् । कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समुहतर्फको १२ लाख ५७ हजार २९० कित्ता शेयर असोज २ गतेदेखि १३ गतेसम्म लिलामीमा विक्री गरेको हो ।

प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कम्पनी तथा विक्री प्रबन्धकको रोहबरमा साउन २४ गते विहान खोली कटअफ मूल्य तय गरिएको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजी रू. ७० करोड ६९ लाख ३२ हजार ४०० को आधारमा १५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद शेयर समेत बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस