
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ७ दशमलव ८३ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज २५ गते (आज) अन्तिम दिन रहेको छ । मर्जर प्रयोजनका लागि कम्पनीको शेयर कारोबार भने गत जेठ ३ गतेदेखिनै रोक्का रहेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव सहित मर्जर लगाएतका विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ४ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।
सो साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने बताएको छ । यसर्थ असोज २५ गतेसम्म शेयर किताबमा कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने कम्पनीको भनाई छ ।
गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रकृयामा रहेका हुन । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा यी कम्पनीहरू एक भएर तोके बमोजिमको पूँजी कायम गर्न लागेका हुन । यी तीन कम्पनीहरूबीच गत वैशाख २९ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता भएको हो ।
प्रतिक्रिया दिनुहोस