aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरकारले गर्यो स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख दावी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
सरकारले गर्यो स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख दावी भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा वापतको चालु आर्थिक वर्षको दोस्रो पटकको पैसा भुक्तानी गरेको छ । बोर्डले चालु आवको दोस्रो पटक अर्थात यही असोज महिनामा स्वास्थ्य बीमा वापतको ६६ करोड रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको हो । 

बोर्डले यस अवधिमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ । यसअघि गत भदौ महिनामा २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरिएको थियो ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको २४ अर्ब रुपैयाँ भन्दाबढि दावी भुक्तानी गरिसकेको छ । गत आवसम्म स्वास्थ्य बीमा वापतको २१ अर्ब रुपैयाँ दावी भुक्तानी गरिएको थियो । 

बोर्डले दिएको जानकारी अनुसार स्वास्थ्य बीमा वापत सबैभन्दा बढि दावी भुक्तानी प्रदेश नम्बर १ मा गरिएको छ । यस प्रदेश अन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ८८ अस्पतालमा बोर्डले बीमा वापतको २६ करोड ७४ लाख १० हजार रुपैयाँ दावी भुक्तानी गरेको हो । 

त्यस्तै, मधेश प्रदेश अन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ३८ वटा अस्पतालमा २ करोड ७२ लाख २९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरिएको छ । मधेश प्रदेशमा हालसम्म ३ लाख भन्दाबढिले स्वास्थ्य बीमा गरेका छन् । 

यसैगरी, बागमती प्रदेशका ७२ वटा अस्पताल मार्फत स्वास्थ्य बीमा गरिएको थियो । जसमा बोर्डले १९ करोड ४२ लाख २१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै, गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ४१ वटा अस्पतालमा ४ करोड ८९ लाख १० हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको बोर्डको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, यस अवधिमा बीमाको पहुँच पुगेका लुम्बिनी प्रदेशका ३८ वटा अस्पतालमा ७ करोड ८४ लाख ४९ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको छ । लुम्बिनी प्रदेशमा हालसम्म ८ लाख भन्दाबढि बीमितले स्वास्थ्य बीमा गरेका छन् । 

यसैगरी, स्वास्थ्य बीमाको पहुँच पुगेका कर्णाली प्रदेशका २३ अस्पतालमा १ करोड ५७ लाख ७८ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । उक्त प्रदेशमा हालसम्म ३ लाख भन्दाबढिले स्वास्थ्य बीमा गरेका छन् । 

बोर्ड अनुसार सुदुरपश्चिम प्रदेशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पताल गरी २९ अस्पतालमा ३ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशका ४ लाख भन्दाबढि बीमितले स्वास्थ्य बीमा गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस