
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न १० म्युचुअल फण्डले लाभांश प्रस्ताव गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुका लागि लाभांश दिने घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा सानिमा इक्वीटि फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईबिएल सहभागिता फण्ड, एनआईविएल प्रगति फण्ड, सिद्धार्थ इक्विटी र सिद्धार्थ ग्रोथ स्किम २, एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि ५०, लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्ड रहेका छन् ।
कुन म्युचुअल फण्डको कति ?
सानिमा इक्वीटि फण्डले गत आर्थिक वर्षको कमाइबाट ईकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाले इकाइ धनीहरुलाई फण्डको आकारको २२ प्रतिशत अर्थात २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल उक्त फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण गर्न सुरु गरेको छ । सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित यस फण्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर समेत १२ प्रतिशत नगद लाभांश असोज ६ गतेदेखि वितरण गर्न लागेको हो ।
एनआईबिएल सहभागिता फण्डले यस वर्ष कर समेत ७ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडको भदौ ९ गतेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
एनआईविएल म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले गत आर्थिक वर्ष २०७८/७९ को प्रतिफल सार्वजनिक गरेको छ । एनआईविएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरूलाई कर समेत ४ दशमलव २० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले प्रतिफल घोषणा गरेका छन् । यी दुई योजनाहरूले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेका हुन् । सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले १० प्रतिशत नगद लाभांश (कर सहित) इकाईधनीलाई वितरण गर्ने घोषणा गरेका हुन ।
एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । दुवै फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१ दशमलव ०५२६३ का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका हुन ।
उक्त लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति समेत तय भएको छ । क्यापिटलका अनुसार साउन ३१ गते बुक क्लोज गर्ने दिएको हो । उक्त बुक क्लोजको आधारमा साउन ३० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।
लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित दुई सामूहिक लगानी कोष योजनाहरूले लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । दुवै योजनाले एउटै अनुपातमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस