aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तिहारमा २४ लाख फूलको माला खपत हुने, मागको ८५ प्रतिशत आन्तरिक उत्पादनले धान्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
तिहारमा २४ लाख फूलको माला खपत हुने, मागको ८५ प्रतिशत आन्तरिक उत्पादनले धान्ने

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको दोस्रो ठूलो पर्व हो, तिहार । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) यो पर्व मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।   

तिहारमा विशेषगरि फूलको माग धेरै हुने गर्छ । तिहारमा घर, मठ मन्दिर र कार्यालयहरु फूलले सजाउने भएकाले पनि तिहारमा फूलको माग धेरै हुने गरेको छ । त्यसमा पनि तिहारको मुख्य दिन भाईटीकामा दिदीबहिनिहरुले दाजु भाईहरुलाई सयपत्री फूलको माला लगाइदिने प्रचलन रहि आएको छ । जसका कारण तिहारमा सयपत्री, मखमली, गोदावरी लगायत फूलको ठूलो माग हुने गर्छ । 

तर, यस वर्षको तिहारमा माग अनुसार पर्याप्त मात्रामा स्वदेशी फूलको व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुष्प व्यवसायीहरु रहेका छन् । यस वर्ष फूलका विरुवा उत्पादनमा वृद्धि भएपनि नजिकिँदै गरेको तिहारको लागि माग भएको केहि प्रतिशत फूल आयात गर्नु पर्ने देखिएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । 

उनले भने, ‘तिहारमा सबैभन्दा बढी सयपत्री, मखमली र गोदावरी फूलको माग हुने गरेको छ । यस वर्षको दशैं अवधिगरि करिब चार पाँच दिनसम्म लगातार अत्याधिक मनसुनी वर्षा भएका कारण सयपत्री फूलको आन्तरिक उत्पादन तर्फ कमी आउन सक्ने देखिएको छ । तर, मागको धेरै प्रतिशत आन्तरिक उत्पादनले धान्ने भएकोले केहि प्रतिशत मात्रै आयात गर्नु पर्ने हुन्छ ।’  

सातै प्रदेशको अधिकांश भागमा व्यवसायीक रुपमा सयपत्री फूलको खेती भएकाले तिहारमा लागि आवश्यक हुने सयपत्रि फूलको बजार माग आपूर्तिका लागि खासै समस्या नहुने अनुमान गरिएको उनको भनाई छ । सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामिण क्षेत्रमा सात प्रतिशत आन्तरिक उत्पादनले नै धान्ने र मुख्यगरि शहर केन्द्रित क्षेत्रहरुमा करिब ८५ प्रतिशत आन्तरिक तथा १५ प्रतिशत आयात गरी पुरा गर्नु पर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए ।    

उनका अनुसार गत वर्षको तिहारको पाँच दिनमा १८ करोड १५ लाख व्यवसायीक सयपत्री फूलको माला खपत भएकोे थियो । तर, यस वर्षको तिहारमा करिब १० प्रतिशत सयपत्री फूलको बजार मागमा वृद्धि हुने अनुमान गरिएको छ । यस वर्षको तिहारको पाँच दिनमा करिब २० लाख सयपत्री, ४ लाख ४५ हजार मखमली र २० हजार गोदावरी फूलको माला गरि जम्मा २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको छ ।   

गत वर्षको तिहारमा ११ करोड ९२ लाख रुपैयाँ बराबरको सयपत्री, मखमली र गोदावरी फूलको कारोबार भएको थियो । तर, यस वर्षको तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।  

सात प्रदेशको विभिन्न क्षेत्रमा व्यवसायीक रुपमा सयपत्री फूलको खेती भइरहेको छ । जसमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिरहा, रुपन्देही, कास्की, स्याङजा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली आदी जिल्लाहरु रहेका छन् । त्यस्तै, काठमाडौंको ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम आदि क्षेत्रमा मखमली फूलको व्यवसायीक खेती भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस