
काठमाडौं । सरकारको भनाई र गराइमा तादात्म्य नमिल्दा निराश बनेका बीमा कम्पनीहरूले अन्ततः केही राहत महसुस गर्न पाउने भएका छन्। अघिल्लो आर्थिक वर्षदेखि नै भुक्तानी हुन नसकेको कृषि, पशुपन्छी तथा बाली बीमा अन्तर्गतको रकम बीमा समितिले भुक्तानी गर्ने भएसँगै बीमा कम्पनीहरूमा खुसीको सञ्चार भएको छ ।
नेपाल सरकारले कृषि पशुपन्छी तथा बाली बीमाको ८० प्रतिशत प्रिमियम अनुदान स्वरूप व्यहोर्ने गर्छ । बाँकी रहेको २० प्रतिशत रकम कृषकले नै व्यहोर्ने गर्छन्। तर, गत आर्थिक वर्षमा भएको कृषि पशुपन्छी तथा बाली बीमाको रकममध्येको अनुदान बापत सरकारले बीमा कम्पनीलाई दिनुपर्ने १ अर्ब ३६ करोड भन्दाबढि रकम सरकारले भुक्तान गरेको थिएन । जसका कारण बीमा कम्पनीहरू समस्यामा परेका थिए।
उता निर्जीवन बीमा कम्पनीहरूले कृषकको दाबी भुक्तानी गरिसकेका छन्। तर, ती कम्पनीहरूले सरकारबाट पाउनुपर्ने रकम नपाएको गुनासो गरिरहेका थिए । अब भने निर्जीवन बीमा कम्पनीले कृषकलाई भुक्तानी गरेको तर आफूहरूले सरकारबाट नपाएको सोही रकम बीमा समितिले भुक्तानी दिने तयारी गरेको समितिकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्, ‘गत आवदेखि भुक्तानी हुन नसकेको कृषि, पशुपन्छी तथा बाली बीमाको अनुदान रकम भुक्तानी गर्न लागेको छौं । डकुमेन्ट भेरिफाइ गरेर पशु सेवा विभागमा पठाइसकेका छौँ। उताबाट डकुमेन्ट फिर्ता आएपछि भुक्तानी गर्छौ ।’
त्यसो त समितिले यस अघि भदौ पहिलो सातामै सरकारबाट पाएको पैसा भुक्तानी गर्ने भनेको थियो । तर, समितिले तोकको समय भन्दा दुई महिना बितिसक्दा पनि रकम भुक्तानी नपाउँदा कम्पनीहरूमा सरकार प्रति नै गुनासो बढेको थियो।
उपनिर्देशक ज्ञवाली भने पशुबीमामा पोलिसि धेरै भएका कारण डकुमेन्ट भेरिफाइ गर्न समय लागेका कारण भुक्तानीमा ढिलाइ भएको बताउँछिन् । उनी भन्छिन्, ‘पशु बीमाको पोलिसि नै धेरै छ । सबै डकुमेन्ट भेरिफाइ गरेर पठाउनुपर्ने भएकाले समय लागेको हो । पशु सेवा विभागबाट सिफारिस आएपछि चाँडै नै भुक्तानी गर्छौ ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकृत चन्द्र ढकाल भने भुक्तानी ढिलो हुनुको अर्कै कारण बताउँछन्। उनी भन्छन्, ‘बीमा कम्पनीहरूले दाबी गरेको कागजपत्रमा केही गल्तीहरू भएका कारण उक्त गल्ती सच्याउँदा समय लागेको हो ।’ उनका अनुसार गत वर्ष १ लाख ८६ हजार वटा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी दाबी परेका थिए । उक्त दाबीका केही कागजपत्रमा त्रुटि देखिएकाले सम्बन्धित कम्पनीहरूलाई सच्चाएर ल्याउन लगाइएको छ।
गत आर्थिक वर्षको तीन महिनासम्मको त्यस प्रकारको कागजपत्रमा भएको त्रुटि सच्चाएर बीमा समितिलाई बुझाइ सकेको समेत उनले जानकारी दिए । बीमा कम्पनीहरूले भुक्तानी समयमा नपाउनुको कारण कुनै एक कम्पनीको कागजपत्रमा भएको त्रुटिको कारणले सबै कम्पनीको भुक्तानी रोकिएको हुनसक्ने ढकालको भनाई छ ।
यता बीमा कम्पनीहरू भने समितिले समयमा भुक्तानी नगरिदिँदा आफूहरू समस्यामा परेको गुनासो गर्छन् । निर्जीवन बीमा कम्पनीका एक सिइओ भन्छन्, ‘हामीले बीमितहरुलाई दिनुपर्ने दाबी भुक्तानी दिइसकेका छौँ । सरकारले दिनुपर्ने अनुदान बापतको रकम पनि समितिलाई दिइसकेको छ । तर, समितिबाट समयमा भुक्तानी हुन सकेन। जसका कारण हामीलाई समस्या परेको छ।’
समितिका अनुसार सरकारले पठाएको पैसामध्ये पशुपक्षी बीमा अन्तर्गतको दाबी भुक्तानी बापतको १ अर्ब ६ करोड ७५ लाख ४४ हजार रुपैयाँ रहेको छ । जुन रकम भुक्तानी गर्ने तयारी बीमा समितिले थालेको हो ।
त्यस्तै, गत आर्थिक वर्षको १० करोड ४५ लाख रुपैयाँ बाली बीमा अन्तर्गतको दाबी रकम छ । जुन रकम सरकारले चाँडै नै भुक्तानी गर्ने उपनिर्देशक ज्ञवाली बताउँछिन् । उनी भन्छिन्, ‘गत आवमा परेका बाली बीमा दाबी रकम अन्तर्गतको सरकारले अनुदान बापत दिनुपर्ने पैसा चाँडै दिने भनेको छ । यसका लागि हामीले प्रक्रिया अघि बढाएका छौँ । छिटै नै आउँछ ।’
अर्थ मन्त्रालयले असारको अन्तिममा कृषि तथा पशुपन्छी बीमाको अनुदान बापतको रकम निकासा गरेको थियो । सरकारले पैसा निकासा गरेपछि समितिले भदौको पहिलो सातामा नै उक्त रकम भुक्तानी गर्ने भने पनि हालसम्म बीमा कम्पनीहरूले पाएका छैनन् । बजेट कम र बीमा धेरै हुने समस्या रहेका कारण दाबी भुक्तानी रकम समयमा नहुने गरेको समितिको भनाइ छ । समितिका अनुसार पछिल्लो समयमा पशु बीमामा सरकारले दिनुपर्ने अनुदान रकम धेरै हुँदै गइरहेको छ । अहिले पशु बीमा ४४ प्रतिशतले बढेको देखिएको छ । त्यसका आधारमा अनुदानको लागि बजेट कम राखेको कारण समस्या भएको समितिको भनाई छ ।
प्रतिक्रिया दिनुहोस