
काठमाडौै । जलविद्युत क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । चालु आर्थिक वर्षको असोज महिनामा दुई हाइड्रोपावरका लागि २ अर्ब भन्दा बढि लगानी प्रस्ताव आएको छ । जुन असोज महिनाको १२ दिनको अवधिमा लगानी प्रस्ताव आएको हो ।
उद्योग विभागको तथ्यांक अनुसार यस असोज ३० गतेसम्म दर्ता भएको उद्योगमध्ये दुई वटा जलविद्युत्त क्षेत्रका लागि २ अर्ब ९६ करोड ९६ लाख ७८ हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो ।
असोजमा ७ वटा उद्योगहरुका लागि ३ अर्ब भन्दा बढि लगानी प्रस्ताव आएको छ । जसमध्ये जलविद्युत्त क्षेत्रका दुई वटा उद्योेगका लागि सो बराबरको लगानी प्रस्ताव आएको हो । गत भदौ महिनाको १३ दिनको अवधिमा पनि दुई जलविद्युत क्षेत्रका लागि ७ अर्ब ५४ करोड ८२ लाख १६ हजार रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।
विभागका अनुसार असोज महिनाको यस अवधिमा दर्ता भएका उद्योगहरुमा ललितपुरको बागमती गाउँपालिकामा बागमती वाटर इनर्जी प्रालि दर्ता भएको छ । उक्त आयोजनाका लागि एक अर्ब ३५ करोड ७५ लाख ५५ हजार रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा माउन्टेन इनर्जी नेपाल लिमिटेड (मिस्ट्री खोला क्यास्केड जलविद्युत्त आयोजना) प्रालि दर्ता भएको छ । उक्त हाइड्रोपावरका लागि एक अर्ब ६१ करोड २१ लाख २३ हजार रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस