
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिना सम्ममा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ३९ करोड भन्दाबढी बीमाशुल्क संकलन गरेका गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले ३३ हजार १७४ वटा बीमालेख बिक्री गरी ३९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
समितिका अनुसार कृषि तथा बाली बीमा गर्नेहरुको संख्या बढेसँगै बीमा शुल्क संकलन पनि बढेको छ । गत साउन महिनासम्मको तुलनामा बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ८८.३४ प्रतिशतले बढेको छ । अघिल्लो महिना सम्ममा कम्पनीहरुले १६ हजार ६४६ बीमालेख बिक्री गरी २१ करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
प्रदेशगत बीमाशुल्क संकलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । समितिका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा १२ हजार ६६५ बीमालेख बिक्री गरी १५ करोड ७६ लाख ६५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सोही अवधिमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट ४ हजार ९४८ बीमालेख बिक्री गरी ५ करोड ५० लाख १ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । समितिका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेश प्रदेशबाट ४ करोड रुपैयाँ भन्दा बढि बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले २ हजार ७०७ बीमालेख बिक्री गरी ४ करोड २१ लाख ९३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
समितिका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्क बढेकोे छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट ३ हजार ८३० बीमालेख बिक्री गरी ५ करोड २४ लाख ३६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।
त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ७ करोड ७ लाख एक हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ६ हजार ७०५ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
त्यसैगरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरु बढेका छन् । बीमा गर्नेहरु बढेसँगै बीमाशुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा एक हजार बीमालेख बिक्री गरेका छन् । उक्त संख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले ७७ लाख ६ रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
समितिका अनुसार कम्पनीहरुले यस अवधिमा सुदुरपश्चिम प्रदेशबाट एक करुोड १९ लाख ७६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा १ हजार ३१९ बीमालेख बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस