काठमाडौं । फागुनबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको रसुवागढी जलविद्युत् आयोजना निर्माणस्थलमा पहिरो गएर क्षति पुर्याएसँगै त्यस कम्पनीको शेयर मूल्यमा पनि पहिरो गएको छ ।
गत साता आएको भीषण बाढीबाट आयोजना स्थलमा क्षति पुर्याएसँगै त्यस कम्पनीको शेयर मूल्यमा पनि उच्च गिरावट आएको छ । रसुवागढी जलविद्युत् आयोजनाको शेयर घटेर प्रतिकित्ता २ सय रुपैयाँमा आएको छ । आउँदो फागुनदेखि व्यावसायिक उत्पादन शुरु गर्ने गरी द्रुत गतिमा निर्माण भइरहेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पटक–पटक बाढीपहिराले क्षति पुर्याउँदै आएको छ । असार ५ गते पहिरो खेपेको आयोजनाले भदौ १ गते राति भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको थियो । एक वर्षअघि साउन २२ गते आएको बाढीले पनि आयोजनाको एउटा किनारको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो ।
बारम्बार बाढीपहिरोको जोखिम भएको भन्दै लगानीकर्ताले धमाधम उक्त कम्पनीको शेयर बिक्री गर्न थाल्दा शेयरको भाउ उच्च अंकले घटेको हो । जोखिम बढेपछि लगानीकर्ताले रसुवागढीको शेयर बिक्री गरेर अर्को कम्पनीको शेयर किन्न थालेपछि उक्त कम्पनीको शेयर घटन पुगेको हो । नाफा बुक गर्न खोज्दा रसुवागढी हाइड्रपावर कम्पनीको मूल्य घटेको ब्रोकरहरु बताउँछन् ।
करिब एक महिना अघि नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत भएको रसुवागढीको प्रतिकित्ता २ सय ८७ रुपैयाँमा खुलेको थियो । त्यसपछि बढेर २ सय ९४ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेर २ सय २० रुपैयाँमा कारोबार हुँदै आएको थियो । बाढी पहिरोसँगै शेयर मूल्यमा पनि पहिरो आएर प्रतिकित्ता २ सय रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ । बाढी पहिरोको कारण लगानीकर्ताले प्रतिकित्ता २० रुपैयाँ गुमाइसकेका छन् ।
रसुवागढीसँगै नेप्सेमा सूचीकृत सान्जेन जलविद्युत् कम्पनीको पहिलो दिन प्रतिकित्ता २ सय ९२ रुपैयाँमा कारोबार भएको थियो । त्यस कम्पनीको पनि शेयर मूल्य घटेर २ सय १२ रुपैयाँमा आइपुगेको थियो । त्यस कम्पनीको शेयर मूल्यमा भने केही बढेर २ सय १७ रुपैयाँमा कारोबार हुँदै आएको छ । तर, सान्जेन जलविद्युत् कम्पनीको शेयरमा मूल्यमा कमी आए पनि बाढीपहिरोले क्षति नपुर्याएका कारण बाढीपहिरोको असर शेयर मूल्यमा परेको छैन् यद्दपि, सूचीकृत हुने समयमा भन्दा पछिल्लो समय दुवै कम्पनीका लगानीकर्ताले नाफा गुमाउँदै गएका छन् । सूचीकृत भएको दिन शेयर बिक्री गर्न सकेको भए लगानीकर्ताले राम्रै मुनाफा पाउँथे । जति ढिलो बिक्री, त्यती धेरै नाफा लगानीकर्ताले गुमाउँदै गएका छन् ।
ती दुवै कम्पनीको शेयर प्रतिकित्ता १ रुपैयाँ मात्र परेकाले लगानीकर्तालाई नोक्सानी त छैन । तर, बिक्री जति छिटो गर्न सक्यो त्यति धेरै नाफा गर्न सक्ने अवसर भने गुमाउँदै गएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको शेयर आईपीओमा खरिद गरेकाले अहिले बिक्री गर्दा पनि दोब्बर नाफा त हुन्छ । तर, ढिलो बिक्री गर्दा दिन प्रतिदिन आम्दानी गुमाउँदै गएका छन् । नेप्सेमा सूचीकृत धेरैजसो जलविद्युत् कम्पनीको शेयर आधार मूल्यभन्दा तल झरेकाले पनि लगानीकर्ताले नाफा बुक गर्न हतारिएको शेयर बिश्लेषकहशरुको भनाइ छ ।
प्रतिफलको समय लम्बिने र आम्दानी संकुचन हुने भएकाले जलविद्युत् कम्पनीको शेयर खरिद गर्न लगानीकर्ता हच्किदै आएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृतपछिको पहिलो कारोबार लागि रसुवागढी हाइड्रोपावर कम्पनीले ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ३२ पैसासम्मको ‘रेन्ज’ पाएको थियो । साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसादेखि २८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको थियो । यही मूल्यमा ‘प्रि ओपन सेसन’मा पहिलो कारोबार भएको थियो ।
कम्पनीले सार्वजनिक शेयर निष्काशन गरेको तीन महिनापछि दोस्रो बजारमा शेयर सूचीकरण भएको थियो । दुवै कम्पनीले गत वैशाखमा प्राथमिक शेयर निष्काशन गरेका थिए । गत आर्थिक वर्षमा सूचीकृत गर्दा नवीकरण शुल्क बच्ने भएकाले त्यस्तो उपाय खोजिएको थियो । तर, त्यसले लगानीकर्ताको शेयर कम्तीमा पनि दुई महिना बन्धक बनाएको थियो । साउन पहिलो सातादेखि प्रक्रिया शुरु गरेको कम्पनीले दोस्रो सातामाात्र नेपाल स्टक एक्सचेन्जमा कारोबारको सम्झौता गरेको थियो ।
रसुवागढीले वैशाख ६ गतदेखि १२ गतेसम्म सर्वसाधारणको लागि ९३ लाख २९ हजार कित्ता शेयर निष्काशन गरी वैशाख १९ गते बाँडफाँड गरेको थियो । त्यस्तै सान्जेनले पनि सोही अवधिमा ४९ लाख ८२ हजार कित्ता शेयर निष्काशन गरेर बाँडफाँड गरेको थियो । चिलिमे जलविद्युत् कम्पनीले प्रवद्र्धन गरेको दुवै आयोजनाको निर्माण कार्य भइहेको छ । दुवै आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत हुन लागेको आयोजनाको भनाइ छ । २५ प्रतिशत काम चालू आर्थिक वर्षभरीमा सक्ने योजना छ । तर, बाढीपहिरोका कारण रसुवागढी आयोजना भने निर्धारित समयमा निर्माण सम्पन्न नहुने निश्चित भएको छ । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस