aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सम्पत्ति बीमा गर्ने बढेसँगै एक महिनामा ६६.०६ प्रतिशतले बढ्यो बीमाशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
सम्पत्ति बीमा गर्ने बढेसँगै एक महिनामा ६६.०६ प्रतिशतले बढ्यो बीमाशुल्क

काठमाडौं । एक महिनामा सम्पत्ति बीमा वापतको बीमाशुल्क ६६.०६ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांक हेर्ने हो भने पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेसँगै बीमाशुल्क संकलन पनि बढेको देखिएको हो । 

गत साउन महिनाको तुलनामा भदौ महिनामा सम्पत्ति बीमाशुल्क रकम ७० करोड १४ लाख रुपैयाँले बढेको समितिले जनाएको छ । समितिका अनुसार यस अवधिमा सम्पत्ती बीमा वापत एक अर्ब ७६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । 

विभिन्न कम्पनीहरुले ८९ हजार ९६३ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । गत भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४३ हजार ५३८ बीमालेख बिक्री गरी एक अर्ब ६ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । 

कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन ?

समितिका अनुसार चालु आवको भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमा बाट प्रदेश नम्बर १ मा २५ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले १४ हजार ९५ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन । गत साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १४ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । 

त्यस्तै, मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट १५ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशमा ८ हजार ३७३ बीमालेख बिक्री गरेका छन् । गत साउन महिनामा उक्त प्रदेशबाट ४ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क रकम संकलन भएको थियो ।

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट सबैभन्दा बढि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले सो प्रदेशबाट ३४ हजार २६९ बीमालेख बिक्री गरी एक अर्ब ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो महिनाको तुलनामा ३५ करोड ४६ लाख रुपैयाँले बीमाशुल्क बढेको छ । साउनमा कम्पनीहरुले उक्त प्रदेशमा सम्पत्ति बीमाबाट ६५ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ । 

समितिका अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ९ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्र्जन गरेको देखिन्छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क ४ करोड ५३ लाख रुपैयाँले बढि हो । यस अवधिमा कम्पनीहरुले १० हजार ३ सय बीमालेख बिक्री गरेका छन् । साउन महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट बीमाबाट ४ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । 

त्यस्तै, लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले १५ हजार १ बीमालेख बिक्री गरी १९ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ८ करोड ८८ लाख रुपैयाँले बढि हो । गत साउनमा कम्पनीहरुले १० करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । 

त्यसैगरी, कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम एक करोड ४९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले २ हजार ३०२ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । साउनमा कम्पनीहरुले ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो महिनाको तुलनामा उक्त रकम ८६ लाख रुपैयाँले बढि हो । 

समितिका अनुसार सुदुरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ४ करोड ८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा उक्त ्रदेशबाट ५ हजार ३२३ बीमालेख बिक्री भएको छ । गत साउन महिनामा कम्पनीहरुले १ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क रकम २ करोड २० लाख रुपैयाँले बढि हो ।
 

प्रतिक्रिया दिनुहोस