काठमाडौं । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन् । आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिकरूपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरू सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष भावना गुरुङले बताईन् ।
“माग धान्नै गाह्रो भइरहेको छ”, उनले भनिन्, “तिहारका लागि मात्र एक हजार पाँच सय माला माग छ । तर चुनावी कार्यक्रममा दैनिक सयभन्दा बढी माला गइरहेकाले माग गरेको माला दिन नसकिने भो भनेर चिन्तित छौँ ।” तीस वटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला रु ८० का दरले बिक्री भइरहेको उनको भनाइ थियो ।
पहिलोपटक फूलखेती गरेका महिलाले मागअनुसारको माला पुर्याउन गाह्रो भएपछि अर्को वर्षदेखि एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने सोचमा रहेको उनले सुनाईन् । “फूल फुलाउनु मात्र पर्दोरहेछ, किन्ने ग्राहक बारीमै आउँछन् । थोरै खर्च र मेहेनतमा आम्दानी पनि धेरै हुँदोरहेछ”, उनले भनिन् ।
उनीहरूलाई सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आएका छन् । फूलखेतीका लागि महिलाले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरूलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत वडाध्यक्षकै भूमिका रहेको छ । मेचीनगर–९ मा डिएण्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत आठ वर्षदेखि नर्सरी व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक बिघा जमिन लिजमा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् ।
कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गर्दै आएका उप्रेतीले विगतको भन्दा यस वर्ष झापामा फूलको व्यावसायिक खेती घटेको बताए । फूलको माग भए पनि उत्पादन कम भएका कारण गाह्रो भइरहेको उनले बताए । हामी माला उनेर बेच्न भ्याउँदैनौँ”, उनले भने, “बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ, तीन सय थुँगाको रु पाँच सय गरेर रकम लिन्छौँ ।”
प्रतिक्रिया दिनुहोस