
काठमाडौं । बाराही हाइड्रोपावरपब्लिक लिमिटेडले कात्तिक ४ गते (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
स्थानीयमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले मात्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै स्थानीयले आवेदन दिन सक्ने व्यवस्था छ । यो आईपीओ छिटोमा कात्तिक १८ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा मंसिर ४ गतेसम्म विक्री अवधि लम्बिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर बि माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीयले विक्री प्रबन्धकसँगै एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्नपीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।
प्रतिक्रिया दिनुहोस