aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • शुक्रबार, ०४ कार्तिक २०७९
जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (फोटोफिचर)

काठमाडौं । ललितपुरको जावलाखेलमा ‘१५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९’ शुरु भएको छ । बिहिबारदेखि शुरु भएको यो प्रदर्शनी आगामी आइतबारसम्म हुनेछ ।  

फ्लोरिकल्चर एशोसिएसन नेपालले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’को नारासहित उक्त प्रदर्शनी आयोजना गरेको हो । मेला प्रदर्शनीका संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले तिहार नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन प्रयोग हुने फूलको सहज उपलब्धता गराउन प्रदर्शनीको आयोजना गरिएको बताए । 

पुष्प व्यवसायको व्यवसायीक प्रवर्द्धनका लागि लगातार रूपमा गरिँदै आएको मेला प्रदर्शनी कार्यक्रमहरू कोभिड–१९ का कारण विगत साढे दुई वर्षसम्म सुस्ताएको थियो । केही सहज परिस्थिति भएका कारण गत वर्षदेखि पुनः मेला प्रदर्शनी कार्यक्रम सुरु गरिएको छ । यसै क्रममा यस वर्ष पनि पुष्प विकास केन्द्रको सहयोग तथा फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गरेको हो । 

यस प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरू रहेका छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।

यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइएको छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ गोदावरीको कट फ्लावर रहेका छन् । यसका साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइएको छ । 

यस मेलामा नेपालमा विगत वर्षदेखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूलका बिरुवाहरूको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिका फूलका बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री वितरण भइरहेको छ । यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनीमा समावेश गरिएको छ । 

पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलबाटै गराइएको छ । यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । यसका साथै ८० लाख रुपैयाँसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।  


 

 

प्रतिक्रिया दिनुहोस