aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्या लाईफ र ज्योति लाईफ एकआपसमा मर्जरपछि यस्तो बन्ने छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
सूर्या लाईफ र ज्योति लाईफ एकआपसमा मर्जरपछि यस्तो बन्ने छ

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

 होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय÷क्षेत्रिय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ आषाढ १२ गते सम्पन्न भइ श्री बीमा समितिबाट मिति २०७९ आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । 

नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरु विच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो । अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाण्डौमा रहनेछ । 

मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाईफ इन्स्योरेन्सका  केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाईफ इन्स्योरेन्सका  प्रकाश विक्रम खत्री रहनेछन् । 

 सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् । शेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको शेयर सूर्या लाईफका शेयरधनीले १ शेयर बराबर १ शेयर पाउनेछन् भने ज्योति लाईफका शेयरधनीले १ शेयर बराबर ०.८२४५ शेयर पाउनेछन् । उक्त शेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब रु.४ अर्ब ५५ करोड पुग्नेछ । 

नियमनकारी निकाय  बीमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी रु. ५ अर्ब तोकिएको समयसिमा भित्र सहजै पुर्याउन कम्पनी सफल हुनेछ । अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने कम्पनीले जनाएको छ । 

मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८÷७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष. २०.३६ अर्ब रुपैयाँ, जगेडा कोष १.४४ अर्ब रुपैयाँ,  कुल लगानी २३.७८ अर्ब  रुपैयाँ ,खुद नाफा ३७.३७ करोड  रुपैयाँ र कुल बीमा शुल्क.८.८६ अर्ब  रुपैयाँ हुनेछ । 

प्रतिक्रिया दिनुहोस