aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लक्ष्मी पूजाको साँझ १३०५ मेगावाट विद्युत खपत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ कार्तिक २०७९
लक्ष्मी पूजाको साँझ १३०५ मेगावाट विद्युत खपत

काठमाडौं । लक्ष्मी पूजाको दिन सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार  साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो ।

नेपाल विद्युत प्राधिकरणले विद्युत उच्च माग हुने लक्ष्मीपूजाको दिन करिब ४०० मेगावाट बचत हुने प्रक्षेपण गरेको थियो। विगतमा प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्रमा नै प्राधिकरणका उच्चपदस्थ कर्मचारीहरु नै गएर व्यवस्थापन गर्नमा लाग्ने गरेका थिए । तर, यस पटक भने विजुली खेर जाने अवस्था रहेकाले साँझ मात्रै निरीक्षणका लागि पुग्ने तयारीमा छन्।

तिहारका कारण उद्योगहरु बन्द हुँदा ४०० मेगावाट लोड घटेको छ। भारतमा ४०० मेगावाट विद्युत भारत निर्यात भइरहेको छ। भारत निर्यात सहित करिब १६०० मेगावाट माग रहेको छ। लक्ष्मीपूजाको दिन अर्थात आज साँझ १६५० मेगावाट  देखि १७०० मेगावाट अधिकतम लोड पुग्ने प्रक्षेपण गरिएकोमा १३०५ मात्र पुगेको प्राधिकरणले जनाएको छ।

अहिले नेपालको कुल जडित क्षमता २२०० मेगावाट पुगेको छ। अहिले जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना बन्द छ। जसका कारण १०० मेगावाट विद्युत कटौति भएकाृ छ । त्यस्तै, माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ४५६ मेगावाटमध्येबाट १०० मेगावाट उत्पादन घटेको छ। जसका कारण प्रणालीमा करिब २००० मेगावाट विद्युत मात्रै वितरण भइरहेको प्राधिकरणले जानकारी दिएको छ।  तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस