
काठमाडौं । काठमाडौं उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको छ । तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिने गरेको नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौंका अध्यक्ष अम्मर बानिया बताउँछन ।
अध्यक्ष बानियाँ भन्छन्, ‘२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ । तिहारको लागि १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो । त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो । मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।’
अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको बताउँछन् । उनको अनुमानका अनुसार १५ करोडको चिनियाँ स्याउ काठमाडौं उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन् ।
त्यसैगरी नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए । उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ । तिहारका पाँच दिनमा मात्रै ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोडको नेपाली केरा भित्रिएको छ ।
भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको बानियाको दुखेसो छ । ‘अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ । हाम्रो गाडीको ५० हजार मात्रै ढुवानी पर्छ,’ उनले भने ।
त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो । अध्यक्षे बानियाँ भन्छन्, ‘बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ । हेर्दा उनीहरुको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ तर उपभोक्ताले यो कुरा बुझ्दैनन् । भाडा, भन्सार आदि सबै तिरर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ । नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ ।’
प्रतिक्रिया दिनुहोस