
काठमाडौं । सानिमा क्यापिटलले बुधबारदेखि सानिमा ग्रोथ फण्डको इकाई विक्री खुला गरेको छ । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई जारी गरेको हो ।
कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रवर्धक सानिमा बैंकको लागि रहेको छ । यसका साथै २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो इकाई छिटोमा कात्तिक २० गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक ३० गतेसम्म विक्री अवधि लम्बिनेछ । उक्त इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले ११ बर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाको इकाई बाँडफाँट पश्चात् धितोपत्र दोस्रो बजारमा सुचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइने बताए । साथै उनले यस योजनाले कमाएका खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गरिने योजना समेत रहेको सुनाए ।
प्रमुख कार्यकारी अधिकृत चालिसेले भने, ‘सानिमा ग्रोथ फण्ड शेयर इक्युटी बेसमा नै लगानी गर्ने गरेर डिजाइन गरिएको छ । यसमा म्याचुरिटी पिरियड अलिक बढी राखेर दोस्रो बजारको दुई वटा साइकलसम्मलाई कभरेज होस् र त्यही अनुसारको रिटर्न होस् भनेर ल्याएका छौँ । जसमा राम्रो लगानी गर्ने यसको लक्ष्य रहेको छ ।’
त्यस्तै, उनले अहिलेको बजारको अवस्थामा यस म्युचुअल फण्डलाई व्यवस्थापन गर्न सकियो भने राम्रो प्रतिफल दिन सकिने बताए । ‘अहिले हामीले जुन म्युचुअल फण्ड ल्याएका छौँ । यसमा शेयर बजारले राम्रो साथ दिएको छ । शेयर बजार उच्च वृद्धि भइरहेको बेलामा लगानी गर्नका लागि यसलाई लयाइयो भने यसको नतिजा अर्कै आउँछ । शेयर बजार गिरावट भएको बेलामा नै हामीले यसलाई व्यवस्थापन गर्न सक्यौँ पनि राम्रो रिटर्न दिन सक्छौँ ।’
उनका अनुसार अहिलेसम्मका म्युचुअल फण्डलाई हेर्ने हो भने फिक्स डिपोजिटमा भन्दा बढी नै प्रतिफल दिएको देखिन्छ । यसअघि सबैले दश वर्षे योजना ल्याउने गरेका थिए । तर, सानिमा क्यापिटलले यस पटक भने ११ वर्षे ल्याएको छ । म्युचुअल फण्ड जारी गरेको एक वर्षसम्म कहाँ कसरी लगानी गर्ने लगायतका विषयहरूमा हेर्नमै बित्छ । एक वर्षसम्म सबै कुराको व्यवस्थापन गरेर १० वर्ष पुरा लगानी गर्न सकियो भने राम्रो प्रतिफल दिन सकिन्छ । यसको लगानी नेपाल धितोपत्र बोर्डले तोकेको गाइडलाइनमा नै रहेर गर्ने योजना छ ।
यस इकाईले १७ प्रतिशतभन्दा बढी लाभांश दिने उनको भनाई छ । प्रमुख कार्यकारी अधिकृत चालिसेले आर्थिकन्युज डटकमसंग भने, ‘११ वर्षे यो योजनामा १७ प्रतिशत भन्दा बढी लाभांश हामीले दिन्छौँ । जुन अहिलेको बजार अनुसार एकदमै राम्रो रहेको छ । यस अघिको हाम्रो एउटा इक्युटी फण्डको चार वर्षको अवधिमा ७२ प्रतिशत लाभांश दिइसकेका छौँ ।’
म्युचुअल फण्ड साना साना लगानीकर्ताहरूले नै किन्नु पर्ने फण्ड रहेको बताउँदै उनले भने, ‘आजसम्म हामीले ल्याएका म्युचुअल फण्डको लाभांश हेर्ने हो भने सबैभन्दा बढी दिएका छौँ । पछिल्लो पटक हामीले २२ प्रतिशतसम्म लाभांश दिएका छौँ । यतिको लाभांश अरू कुनै म्युचुअल फण्डले दिन सकेका छैनन् । यसअघि हामीले ल्याएका म्युचुअल फण्डले दिएको प्रतिफल हेरेर लगानी गर्नु भयो भने पछुताउनु पर्दैन ।’
प्रतिक्रिया दिनुहोस