
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओकोे प्रि–अलोटमेन्ट सम्पन्न गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले मंगलवार प्रि–अलोटमेन्ट कार्य सम्पन्न गरेको जानकारी दिएको हो । क्यापिटलले उक्त आईपीओको अन्तिम बाँडफाँट कात्तिक १७ गते बिहीवार गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणमा असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले पहिलो चरणमा ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बाँडफाँट गरी बाँकी रहेको ५० हजार ३१० कित्ता शेयर समेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषहरूमा र १३ हजार ४०६ कित्ता कर्मचारीहरुमा बाँडफाँट गरिएको छ ।
यी बाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर भने अन्य सर्वसाधारणमा बाँडफाँट गर्न लागिएको हो । कम्पनीको शेयर भाग्यमानी ६२ हजार ३३८ जनाले मात्र प्राप्त गर्नेछन् । कम्पनीको शेयर पहिलो चरणमा १० कित्ताका दरले बाँडफाँट गरी बाँकी ९ कित्ता शेयर थप ९ जनालाई एक कित्ताका दरले वितरण हुनेछ । यसरी हेर्दा कम्पनीको शेयर बढीमा ११ कित्तासम्म बाँडफाँट हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि यो पूँजी रू. ६२ करोड पुग्नेछ । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल जेठ २७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २६ करोड ११ लाखभन्दा बढी छ ।
प्रतिक्रिया दिनुहोस