काठमाडौं । पुँजीबजार बिस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ताहरूले चेतावनी दिएका छन् । नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल शेयरधनी संघ, नेपाल धितो पत्र लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, शेयर लगानीकर्ता दबाब समूह, लगानीकर्ता हित संरक्षण मञ्च र स्वतन्त्र पुँजी बजार सुधार संघले सोमबार संयुक्त एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पुँजीबजारलाई सही नीति नियम, अत्याधुनिक प्रविधि, पूर्वाधार र कडा नियमनद्वारा व्यवस्थित गर्न हामी लगानीकर्तासँग भएको सहमति र हाम्रो माग बमोजिम नेपाल स्टक एक्सचेन्ज, नेपाल धितो पत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरूद्वारा चालिएका कदमहरूमा केही स्वार्थी समूहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आम नेपाली लगानीकर्ताहरूको तर्फबाट हामी सबै संघ संस्थाहरू फेरि सडकमा उत्रिने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौ ।’
नेपालको पुँजी बजारलाई आधुनिक हुनै नदिने र सीमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानुन विपरीत प्रवृत्तिले ४० खर्ब भन्दा बढी पुँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको उनीहरूको भनाई छ । साथै लाखौँ लगानीकर्तालाई पलायन हुन बाध्य पारेको अवस्था रहेको लगानीकर्ताहरूले बताएका छन् । त्यस्तै, शेयर बजारमा हुनै लागेका सुधार र विस्तारका काम रोकिए झन् ठूलो क्षति नेपालको पुँजी बजारले भोग्नुपर्ने र बर्षो पछाडि धकेलिने लगानीकर्ताहरूले बताएका छन् ।
‘पुँजी बजार जस्तो संवेदनशील क्षेत्रलाई खेलाँचीको रूपमा नलिई विगतमा भएका विभिन्न आन्दोलनमा राखिएका मागहरू तथा सुझावहरूका साथसाथै ५८ बुँदे सुझाव र १९ बुँदे सहमति तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न एवं कुनै बाधा विरोध सिर्जना नगरी आम सर्वसाधारण लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्नुका साथै लगानीको वातावरण तयार पार्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस