aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
तीन कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?

काठमाडौं । बिहिबार तीन कम्पनीको वित्तीय विवरण सार्वजनिक भएको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मध्य भोटेकोशी जलविद्युत कम्पनी र सानिमामाई हाइड्रोपावर लिमिटेडको वित्तीय विवरण सार्वजनिक भएको हो । 

दिव्यश्वरी हाइड्रोको नाफा करिब ७५ प्रतिशत घट्यो 
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले रू. ७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म रू. २९ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ७४ दशमलव ८७ प्रतिशत कम खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको वित्तीय खर्च करिब ४७ प्रतिशत बढ्दा नाफामा असर परेको हो । गत वर्ष रू. १ करोड ३६ लाखभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. २ करोडभन्दा बढी रहेको छ । कम्पनीको कुल आम्दानी भने गत वर्षभन्दा यस वर्ष ८ प्रतिशत मात्र बढी भएको छ । गत वर्ष रू. २ करोड ९८ लाखभन्दा बढी रहेको कुल आम्दानी यस वर्ष रू. ३ करोड २२ लाखभन्दा बढी भएको हो । आम्दानीको तुलनामा खर्च बढी हुँदा यस वर्ष कम्पनीको खुद नाफा घट्द पुगेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम रू. २२ करोड २० लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको जगेडा कोषको ऋणात्मक अवस्था करिब १० प्रतिशत बृद्धि भएको हो ।

कम्पनीले अल्पकालिन कर्जाका रुपमा रू. ५ करोड ४४ लाखभन्दा बढी लिएको छ भने दिर्घकालिन कर्जाका रुपमा रू. ५८ करोड ६२ लाखभन्दा बढी उपयोग गरेको छ । गत वर्षको तुलनामा अल्पकालिन कर्जामा कुनै परिवर्तन देखिएको छैन भने दिर्घकालिन कर्जा ३ प्रतिशत कम भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ३० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५ दशमलव ९० रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी करिब २ करोड नोक्सानीमा 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. १ करोड ८५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नोक्सानी १५५ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ७२ लाख ६९ हजार खुद नोक्सानीमा रहेको थियो । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विद्युत विक्री आम्दानी नगरेको यस कम्पनीको आयोजना व्यवस्थापन खर्च बढ्दा खुद नोक्सानी बढेको हो । गत वर्ष रू. ७५ लाखभन्दा बढी रहेको व्यवस्थापकिय खर्च यस वर्ष रू. १ करोड ८३ लाखभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब रहेको छ ।

खुद नोक्सानीमा रहेको कम्पनीको रिटेन्ड अर्निग रू. ३६ करोड ५३ लाख ऋणात्मक रहेको छ । कम्पनीको दिर्घकालिन दायित्व रकम गत वर्षभन्दा करिब २५ प्रतिशत बढी रहेको छ । गत वर्ष रू. ६ अर्ब ४१ करोड २१ लाखभन्दा बढी रहेको दिर्घकालिन दायित्व रकम यस वर्ष रू. ८ अर्ब १ करोडभन्दा बढी पुगेको छ ।  

सानिमामाई हाइड्रोपावरले कमायो २३ करोडभन्दा बढी नाफा 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमामाई हाइड्रोपावर लिमिटेडले रू. २३ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा भने यस वर्ष कम्पनीको खुद नाफा ४ दशमलव ४२ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २४ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै खुद नाफामा असर परेको हो ।

गत वर्ष रू. ३४ करोड ३८ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३२ करोड १७ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । कम्पनीको वित्तीय खर्च पनि गत वर्षभन्दा करिब १३ प्रतिशत कम रू. ३ करोड ३२ लाखभन्दा बढी भएको छ ।

१० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार पु¥याएको कम्पनीको रिटेन्ड अर्निगमा रू. १ अर्ब १५ करोडभन्दा बढी रहेको छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा उल्लेख्य रुपमा बृद्धि भई रू. ५४ करोड ५० लाख कायम भएको छ । रिटेन्ड अर्निग गत वर्ष रू. ९० करोड ५१ लाखभन्दा बढी थियो भने जगेडा कोष रकम रू. ६५ लाखभन्दा बढी रहेको थियो । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ५२ र प्रतिशेयर नेटवर्थ रू. १५५ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस