aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि बीमा गर्ने बढेसँगै एक महिनामै ३९.५३ प्रतिशतले बढ्यो बीमाशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
कृषि बीमा गर्ने बढेसँगै एक महिनामै ३९.५३ प्रतिशतले बढ्यो बीमाशुल्क

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा गर्नेहरुको संख्या बढेसँगै बीमाशुल्क संकलन पनि बढेको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ५५ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ४४ हजार ५९५ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । 

उक्त बीमाशुल्क गत भदौ महिनाको तुलनामा ३९.५३ प्रतिशतले बढि हो । बीमा प्राधिकरणका  अनुसार गत भदौ महिनामा कम्पनीहरुले ३३ हजार १७४ वटा बीमालेख बिक्री गरी ३९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । 

प्रदेशगत बीमाशुल्क संकलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । प्राधिकरणका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा १७ हजार ३९६ बीमालेख बिक्री गरी २२ करोड १४ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

त्यस्तै, सोही अवधिमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट ६ हजार ६१६ बीमालेख बिक्री गरी ७ करोड ७७ लाख ७० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेश प्रदेशबाट ५ करोड रुपैयाँ भन्दा बढि बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ४ हजार ५३५ बीमालेख बिक्री गरी ५ करोड ८९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । 

प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमाशुल्क बढेकोे छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट ५ हजार ६७ बीमालेख बिक्री गरी ७ करोड २२ लाख ८० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ९ करोड ५१ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ८ हजार ९५१ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । 

त्यसैगरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरु बढेका छन् । बीमा गर्नेहरु बढेसँगै बीमाशुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा एक हजार २१२ बीमालेख बिक्री गरेका छन् । उक्त संख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले ९२ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

प्राधिकरणका अनुसार कम्पनीहरुले यस अवधिमा सुदुरपश्चिम प्रदेशबाट एक करोड ९९ लाख ७१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा १ हजार ८१८ बीमालेख बिक्री गरेको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस