
काठमाडौं । बीमा कम्पनीहरुले चाहेर पनि आफ्ना ग्राहकलाई समयमै दावी भुक्तानी दिन त्यसै गाह्रो परेको होइन भन्ने कुरा सरकारका पछिल्ला गतिविधिहरुले थप प्रष्ट पारेको छ । लामो समयदेखि भुक्तानी हुन नसकेको कृषि, पशुपन्छी तथा बाली बीमा अन्तर्गतको अनुदान रकम सरकारले समयमै बीमा कम्पनीहरुलाई नदिँदा यस्तो देखिएको छ ।
अर्थमन्त्रालयले असार अन्तिम सातामा नै बीमा कम्पनीहरुलाई प्रदान गर्न अनुदान वापतको रकम बीमा प्राधिकरणलाई दिइसकेको थियो । तर, प्राधिकरणले अनेकौं बहाना गर्दै बीमा कम्पनीलाई झुलाउँदै आएकोमा अहिले भने चुनावको बहाना ते¥स्र्याएको छ ।
बीमा प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले कृषि, पशुपन्छी तथा बाली बीमा अन्तर्गतको अनुदान रकम चुनावपछि मात्रै भुक्तानी गर्ने जानकारी दिएकी हुन् । उनले आर्थिकन्युजसँग भनिन्, ‘कृषि, पशुपन्छी तथा बाली बीमाको अनुदान रकम केही समयअघि भुक्तानी गर्ने तयारी गरेका थियौै । पशु सेवा विभागबाट डकुमेन्ट पनि भेरिफाइ भएर आइसकेको छ । भुक्तानी गर्ने टिमको मान्छे नभएर ढिलाई भएको हो । चुनावपछि भुक्तानी गर्छौ ।’
यसरी अब चुनावपछि मात्रै बीमा कम्पनीहरुलाई अनुदानका रकम भुक्तानी हुने भएको हो । अनुदान वापतको रकम पाउने आशमा रहेका निर्जीवन बीमा कम्पनीहरु भने यसबाट थप निराश बनेका छन् ।
सरकारले कृषि पशुपन्छी तथा बाली बीमाको ८० प्रतिशत प्रिमियम अनुदान स्वरूप व्यहोर्ने गर्छ । बाँकी रहेको २० प्रतिशत रकम कृषकले नै व्यहोर्ने गर्छन् । तर, गत आर्थिक वर्षमा भएको कृषि पशुपन्छी तथा बाली बीमाको रकममध्येको अनुदान बापत सरकारले बीमा कम्पनीलाई दिनुपर्ने १ अर्ब ३६ करोड भन्दाबढि रकम सरकारले भुक्तान गरेको छैन । जसका कारण बीमा कम्पनीहरू समस्यामा परेका छन् ।
उता निर्जीवन बीमा कम्पनीहरूले कृषकहरुलाई दाबी भुक्तानी गरिसकेका छन् । यता बीमा कम्पनीहरु भने प्राधिकरणबाट समयमा अनुदान वापतको रकम भुक्तानी नपाएर तड्पिरहेका छन् ।
त्यसो त प्राधिकरणले यस अघि भदौ पहिलो सातामै सरकारबाट पाएको पैसा भुक्तानी गर्ने भनेको थियो । तर, प्राधिकरणले तोकको समय भन्दा दुई महिना बितिसक्दा पनि रकम भुक्तानी नपाउँदा कम्पनीहरूमा सरकार प्रति नै गुनासो बढेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षमा १ लाख ८६ हजार वटा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी दाबी परेका थिए । उक्त दाबीका केही कागजपत्रमा त्रुटि देखिएकाले सम्बन्धित कम्पनीहरूलाई सच्चाएर ल्याउन लगाइएको छ ।
बीमा प्राधिकरणका अनुसार सरकारले पठाएको पैसामध्ये पशुपक्षी बीमा अन्तर्गतको दाबी भुक्तानी बापतको १ अर्ब ६ करोड ७५ लाख ४४ हजार रुपैयाँ रहेको छ । जुन रकम भुक्तानी गर्ने तयारी बीमा प्राधिकरणले थालेको हो ।
त्यस्तै, गत आर्थिक वर्षको १० करोड ४५ लाख रुपैयाँ बाली बीमा अन्तर्गतको दाबी रकम पनि सरकारले चाँडै नै भुक्तानी गर्ने बीमा प्राधिकरणले जनाएको छ । सरकारले पैसा निकासा गरेपछि समितिले भदौको पहिलो सातामा नै उक्त रकम भुक्तानी गर्ने भने पनि हालसम्म बीमा कम्पनीहरूले पाएका छैनन् ।
बजेट कम र बीमा धेरै हुने समस्या रहेका कारण दाबी भुक्तानी रकम समयमा नहुने गरेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका पछिल्लो समयमा पशु बीमामा सरकारले दिनुपर्ने अनुदान रकम धेरै हुँदै गइरहेको छ ।
पछिल्लो समय कृषि तथा पशुपन्छी बीमा गर्नेको संख्या पनि बढेको छ । प्राधिकरणको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको असोज महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ५५ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ४४ हजार ५९५ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
उक्त बीमाशुल्क गत भदौ महिनाको तुलनामा ३९.५३ प्रतिशतले बढि हो । बीमा प्राधिकरणका अनुसार गत भदौ महिनामा कम्पनीहरुले ३३ हजार १७४ वटा बीमालेख बिक्री गरी ३९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस